"बोल्नुपर्ने ठाउँमा नबोल्ने विद्वान् समाजका लागि हानिकारक"
कलाकारहरू सधैँ सत्ताको प्रतिपक्षमा रहनुपर्छ भन्ने आवाज नेपाली समाजमा निरन्तर उठिरहन्छ। यद्यपि, नेपाली कला क्षेत्रका कतिपय अनुहारहरू कुनै न कुनै राजनीतिक दलको पक्ष वा छहारीमा उभिएका देखिन्छन् भने कोही पूर्ण रूपमा तटस्थ बस्न रुचाउँछन्।
तर, यी दुवै अतिवादभन्दा फरक धारमा उभिँदै समय-समयमा आफ्ना तार्किक र खरो विचार राख्ने थोरै कलाकारमध्ये पर्छन्- अभिनेता, लेखक तथा निर्देशक दीपकराज गिरी।
उनी आफ्नो मनमा लागेका कुरा, चाहे त्यो सरकारको समर्थनमा होस् वा विरोधमा, सामाजिक सञ्जालमार्फत निर्धक्क राख्छन्। यही प्रष्ट वक्ता स्वभावका कारण उनले समर्थकबाट ताली र आलोचकबाट उत्तिकै गाली पनि पाउँदै आएका छन्। कलाकार, सत्ता र राजनीतिको सेरोफेरोमा रहेर उनीसँग गरिएको सान्दर्भिक कुराकानीको सम्पादित अंशः
कलाकार सधैँ प्रतिपक्षमै रहनुपर्छ भन्ने धारणा कत्तिको सही हो?
खासमा कलाकारलाई ‘असल प्रतिपक्ष’ भन्नुपर्छ। सधैँ प्रतिपक्ष मात्र भनियो भने त्यसले विरोध मात्रै गर्छ भन्ने बुझिन्छ। एउटा असल प्रतिपक्षले राम्रो कामको खुलेर तारिफ गर्छ र गर्नुपर्ने सुधारका विषयमा खबरदारी पनि गर्छ।
कुनै कलाकारले अन्य पेसाकर्मीले जस्तै कतै नियुक्ति पाउने आशमा वा व्यक्तिगत स्वार्थ पूरा गर्न सरकारको भजन गाउने वा दलको टिकट लिने काम गर्छ भने समाजमा त्यसको राम्रो सन्देश जाँदैन। यदि राजनीति नै गर्ने हो भने प्रत्यक्ष रूपमै त्यसमा होमिनुपर्छ।
उदाहरणका लागि, रीमा विश्वकर्मा, प्रकाश सपुत वा अहिलेका प्रधानमन्त्री बालेन शाह र रवि लामिछाने पनि कलाकार नै हुन्। रविजीले पनि पहिलो ‘ट्वाक्क टुक्क’मा अभिनय गर्नुभएको थियो। उहाँहरू सीधै राजनीतिमा होमिनुभयो, जुन सही बाटो हो।
तर, यदि आफूलाई ‘कलाकार’ नै भन्न रुचाउने हो भने असल प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ। सरकारले गरेका राम्रा कामको प्रशंसा गर्ने र नराम्रा काममा ‘यो भएन है, यसले राम्रो सन्देश गइरहेको छैन’ भनेर औँला्याउने आँट गर्नुपर्छ।
कलाकारले सत्तालाई समर्थन गर्दा उसको स्वतन्त्रता प्रभावित हुन्छ कि हुँदैन?
कुनै पनि विषय वा पक्षलाई समर्थन या विरोध गर्ने स्वतन्त्रता हरेक मानिसलाई हुन्छ। तर, कतिपय स्वतन्त्रताहरू नैतिकताको कसीमा बाँधिएका हुन्छन् र बाँधिनु पनि पर्छ। स्वतन्त्रता छ भन्दैमा नैतिकताको आधार बिर्सेर सत्ताको अन्धभक्त हुन मिल्दैन।
जनताको आवाज बोल्नु कलाकारको कर्तव्य हो कि व्यक्तिगत छनोट?
यो बोल्ने वा नबोल्ने भन्ने कुरा नितान्त आवश्यकतामा भर पर्छ। मलाई कतिपय साथीहरू भन्छन्, ‘तैँले सिनेमा बनाइरहेको छस्, पैसा र नाम दुवै कमाइरहेको छस्। किन खुसुखुसु लेखेर विवादमा आउँछस् ? आनन्दले बसेर खा न !’
एक हिसाबले सोच्दा उनीहरूको कुरा सही पनि लाग्ला। तर, हामी यो समाजका सामाजिक प्राणी हौँ। दर्शकले आफ्नो पसिनाको कमाइबाट टिकट काटेर हाम्रो सिनेमा हेरिदिन्छन् भने, उनीहरूले हामीबाट समाजका मुद्दामा बोलिदेला भन्ने आश पनि त गरेका हुन्छन् नि ! मेरो प्रष्ट मान्यता छ- समाजमा जथाभावी बोलिरहने मूर्खभन्दा बोल्नुपर्ने ठाउँमा मौन बस्ने विद्वान् झन् बढी हानिकारक हुन्छ।
कलाकार प्रतिपक्षमा हुँदा मात्रै प्रभावकारी हुन्छ भन्ने धारणा कत्तिको व्यावहारिक छ?
मैले अघि नै भनेँ, सधैँ प्रतिपक्ष (विरोध) मात्र गर्ने होइन। जस्तै, अस्ति सम्पन्न निर्वाचनमा हामीले कहीँ न कहीँ घुमाउरो शैलीमा नयाँ शक्तिलाई समर्थन गर्यौँ होला। किन गर्यौँ त? त्यसको परिणाम अहिलेको नतिजाले देखाइसकेको छ। हामीले बोल्ने भनेकै जनताको आवाज हो।
हामीले सडक, टोलटोल र घरघरमा परिवर्तनको घण्टी बजेको सुनिरहेका थियौँ, तर सत्तासीनहरूले त्यो सुनिरहेका थिएनन्। उनीहरूलाई त्यस्तो होला भन्ने कल्पनासम्म थिएन। यस्तो बेला हाम्रो काम भनेको ‘जनताले घण्टी बजाइरहेका छन्, कान खोलेर सुन है’ भनेर झकझकाउने हो।
के सत्ताको नजिक हुने कलाकारले आलोचना गर्ने नैतिक बल गुमाउँछन्?
पक्कै पनि। सत्ताको छहारीमुनि बसेर अरू दल वा नेतालाई औँला उठाउनु भनेको एउटा नेताले अर्को नेतालाई गाली गरेजस्तै मात्र हो। त्यहाँ उनीहरूको नैतिक बल पूर्ण रूपमा सकिन्छ। मैले सामाजिक सञ्जालमा विचार राख्दा जतिसुकै गाली खाए पनि, जब म बाहिर निस्केर सार्वजनिक कार्यक्रमहरूमा जनतालाई भेट्छु, उहाँहरूले भन्नुहुन्छ, ‘तपाईंले बोलेको र लेखेको कुरा एकदम सही छ, तपाईं यो समाजप्रति जिम्मेवार हुनुहुन्छ।’
म सकेसम्म कसैको भजन नगाउने कोसिस गर्छु। म सत्ता र जनताको बीचमा बसेर केवल जनताको आवाज बोल्ने प्रयास गर्छु। भोलि कुन दिन म आफैँ राजनीतिमा आएँ भने एउटा दलको छातामुनि बसुँला, तर अहिले म विशुद्ध ‘जनताको छाता’मुनि छु।
कलाकारले राजनीतिक धारणा खुला रूपमा राख्नु ठीक कि तटस्थ बस्नु राम्रो?
तटस्थ बस्नु आफैँमा पूर्ण रूपले गलत होइन। तर, सधैँको मौनताले अघि मैले भनेजस्तै ‘चुपचाप बस्ने हानिकारक विद्वान्’ बनाउँछ। एउटा उदाहरण दिऊँ- मानौँ, बागबजारमा बम पड्कियो र निर्दोष मानिसले ज्यान गुमाए।
‘आतंककारीले मेरो घरमा पड्काएको त होइन नि, म किन बोल्ने ?’ भनेर मौन बस्नुहुन्छ कि त्यसको कडा विरोध गर्नुहुन्छ ? नबोली बस्न पनि त सकियो नि ! तर अन्याय पर्दा बोल्ने कि नबोल्ने भन्ने कुराले तपाईंको चेतनाको स्तर देखाउँछ।
प्रतिपक्षमा बसेर बोल्ने कलाकारलाई समाजले बढी विश्वास गर्नुको कारण के हो?
यसमा सकारात्मक र नकारात्मक दुवै पाटा छन्। गत भदौ २३ गतेको आन्दोलनको कुरा गरौँ। बालबालिकाहरूको त्यति धेरै ज्यान गएपछि सारा मानिस सडकमा आए, म पनि गएँ। तर, म त्यहाँ जाँदा एक पक्षले मलाई अचाक्ली गाली गर्यो। सडकमा हिँडेको मेरो फोटो फेसबुकमा राखेर ‘यसले घर जलायो’ भन्नेसम्मको झुटो आरोप लगाए।
त्यसैले, समाजका मुद्दामा बोल्दा आलोचना सहने फराकिलो छाती पनि हुनैपर्छ। तपाईंले बोलेका कुरा बुद्धका वाणी होइनन् कि सबैलाई प्रिय लागोस्। एउटा पक्षको पक्षपोषण गर्दा अर्को पक्षलाई बिझाइहाल्छ। यदि आफ्नो स्वतन्त्रता र विचार पनि राख्ने अनि कसैले गाली नगरोस्, सबैले प्रशंसा मात्र गरुन् भन्ने चाहने हो भने त- धार्मिक प्रवचन दिने बाटो रोज्नुपर्छ।
कलाकारको आवाजले साँच्चै राजनीतिक परिवर्तनमा कति प्रभाव पार्छ?
अत्यधिक प्रभाव पार्छ। वि.सं. २०४५ सालदेखि कम्युनिस्टहरूले गाएको ‘गाउँ गाउँबाट उठ’ वा ‘रक्तक्रान्तिको ज्वालामुखी’ जस्ता गीत सुनेरै धेरै मानिस कम्युनिस्ट भए, आन्दोलनमा होमिए। कम्युनिस्टहरूले सुरुदेखि नै ‘सांस्कृतिक क्रान्ति’ भन्दै आए र गीत, सङ्गीत र नृत्यले आम मानिसलाई चाँडै प्रभावित पार्छ भन्ने बुझेर यसलाई व्यवहारमै लागू गरे।
हिजो जुन अस्त्र कम्युनिस्टहरूले प्रयोग गर्थे, आज त्यही अस्त्र रास्वपाले प्रयोग गरिरहेको छ। अहिले रास्वपामा हेर्नुहुन्छ भने कलाकारै कलाकार छन्- सभापति कलाकार, सांसदहरू कलाकार, अनि उनीहरूको वरपर पनि कलाकार नै छन्।
‘प्रतिपक्षमा हुनु’ भनेको सधैँ विरोध मात्र गर्नु हो कि रचनात्मक आलोचना गर्नु हो?
मैले सुरुमै स्पष्ट पारिसकेँ- हामी ‘असल प्रतिपक्ष’ हुनुपर्छ। प्रतिपक्ष मात्र भइयो भने सरकारको कमजोरी मात्र खोज्ने काम हुन्छ। असल प्रतिपक्षले राम्रो कामको खुलेर तारिफ गर्छ र नराम्रो कामको खरो आलोचना। अझ मेरो शैलीको कुरा गर्नुहुन्छ भने, म सीधै विरोध गर्नुभन्दा घुमाउरो र व्यङ्ग्यात्मक पारामा प्रहार गर्न रुचाउँछु।
कुनै दल वा नेताको नामै नतोकीकन गरिएको व्यङ्ग्यले धेरै कुरा बोल्छ र समाजका सबैलाई त्यो कसप्रति लक्षित हो भन्ने राम्ररी थाहा हुन्छ। सीधै नाम तोकेर व्यक्तिलाई गाली गर्न मिल्दैन, तर व्यङ्ग्यात्मक रूपमा समाजको ऐना देखाउन मलाई कसैले रोक्न सक्दैन।
जेठ ३१, २०८३ आइतबार १८:३२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।