ग्लोबल आइएमई बैंकको सञ्चालक सदस्यमा पूर्वसचिव भट्टराई नियुक्त
काठमाडौं : ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको ‘स्वतन्त्र महिला सञ्चालक’ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहका बीच सञ्चालक समितिमा स्वागत गरे। सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेकी भट्टराई नेपाल सरकारको पूर्वसचिव र राष्ट्रिय सूचना आयोगको पूर्वआयुक्त समेत हुन्।
आफ्नो कार्यकालमा उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्।
त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेकी भट्टराईले अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी र ड्यूक युनिभर्सिटीबाट ननप्रफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरिन्। हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोन्मेन्ट (सावती) को कार्यकारी सदस्य र प्रोफेसनल होल्डिङ्सको स्वतन्त्र सञ्चालकका रूपमा समेत कार्यरत छन्।
जेठ २९, २०८३ शुक्रबार १९:४०:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।