कुमारी बैंकले ल्यायो ईआरपी-एकीकृत डिजिटल कर्जा प्लेटफर्म
काठमाडौं : कुमारी बैंकले आईएमएस सफ्टवेयरसँगको सहकार्यमा ईआरपी-एकीकृत डिजिटल कर्जा प्लेटफर्म सार्वजनिक गरेको छ। साना तथा मझौला उद्यमीहरूलाई लक्षित गरी बैंकले ‘रियल-टाइम’ डेटामा आधारित नयाँ सेवा सुरु गरेको हो।
यस प्लेटफर्ममार्फत आईएमएसको ईआरपी सफ्टवेयर प्रयोग गर्ने व्यवसायीहरूले कुनै पनि धितोबिना ५ लाख रुपैयाँसम्मको चालू पुँजी कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाका लागि योग्य छ वा छैन भन्ने मूल्यांकन व्यवसायीको बिक्री, कारोबार र मौज्दात सम्बन्धी वास्तविक समयको तथ्याङ्कका आधारमा डिजिटल प्रणालीबाटै गरिने बैंकले जनाएको छ।
सेवा लागू भएसँगै व्यवसायीहरूले कर्जा आवेदन, स्वीकृति, वितरण र भुक्तानीका लागि बैंकको शाखा धाउनुपर्ने वा लामो कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हटेको छ। बैंकका अनुसार सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाटै सम्पन्न हुनेछ। स्वीकृत कर्जालाई व्यवसायीले १२ महिनासम्मको समान मासिक किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।
नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार गर्ने परिकल्पना अनुरूप ल्याइएको यो सेवाले नेपालका ९ लाखभन्दा बढी साना तथा मझौला उद्योगहरूलाई वित्तीय पहुँचमा जोड्ने अपेक्षा गरिएको छ। हाल कुमारी बैंकले देशभर रहेका आफ्ना २८६ शाखा र ४१ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
जेठ २९, २०८३ शुक्रबार १९:१९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।