आईएमई लाइफ इन्स्योरेन्सको रेटिङमा सुधार
काठमाडौं : केयर रेटिङ्स नेपालले आईएमई लाइफ इन्स्योरेन्सको इस्युअर रेटिङमा स्तरोन्नति गरेको छ। रेटिङ एजेन्सीले कम्पनीको साविकको ‘केयर-एनपी बीबीबी प्लस’ (BBB+) रेटिङलाई वृद्धि गरी ‘केयर-एनपी ए माइनस’ (A-) प्रदान गरेको हो।
आईएमई लाइफको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताका आधारमा यो स्तरोन्नति गरिएको हो।
नयाँ रेटिङले आईएमई लाइफसँग आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र अघिल्लो मूल्यांकनको तुलनामा कम्पनी थप बलियो र सुरक्षित संस्थाका रूपमा स्थापित भएको संकेत गरेको छ।
यस उपलब्धिलाई सम्पूर्ण सरोकारवालाहरूको विश्वास र सहयोगको प्रतिफलका रूपमा लिएको आईएमई लाइफले भनेको छ। आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, डिजिटल प्रविधिको प्रयोग र दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
‘इन्सुरिङ फ्युचर’ भन्ने मूल नाराका साथ सञ्चालित यस कम्पनीले देशव्यापी शाखा सञ्जाल र अभिकर्तामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। व्यावसायिक गतिविधिका साथै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा र वित्तीय साक्षरताका क्षेत्रमा समेत कार्य गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
जेठ २९, २०८३ शुक्रबार १९:१८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।