सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनामा गृहमन्त्री गुरुङले मागे माफी

सुकुमबासी बस्तीमा डोजर चलाइएको घटनामा गृहमन्त्री गुरुङले मागे माफी

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले काठमाडौंका सुकुमबासी बस्तीमा डोजर चलाएर नागरिक विस्थापित गर्ने सरकारी कदममा कमजोरी रहेको स्वीकार गरेका छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनेक्रममा उनले सुकुमबासी नागरिकलाई विस्थापित बनाइएको घटनामा माफीसमेत मागे। 

बस्तीमा डोजर चलाएर नागरिकहरूलाई विस्थापित गरेको देख्दा आफूलाई पनि गाह्रो अनुभव भएको उनको भनाइ थियो। सुकुमबासी व्यवस्थापनको लागि त्यतिबेला राम्रो विकल्प खोज्न सकिने आशय व्यक्त गरे।

वैशाख १२ गते प्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका वालेन्द्र शाहको निर्देशनमा काठमाडौंको १९ वटा बस्तीमा निर्मम तरिकाले डोजर चलाइएको थियो। त्यसबाट अहिले सम्म १५ हजार भन्दा बढी व्यक्तिहरू प्रत्यक्ष पीडित भएको सरकारी तथ्यांकमै देखिन्छ।
 
यही विषयलाई लिएर डोजर चलाएको ठाउँहरू विपद्पछि देखिएको दृश्यहरूझैँ देखिएको भन्दै पुनः गृहमन्त्रीमा नियुक्त भएपछि गुरुङले सुकुमबासीहरु विषयलाई लिएर माफी मागे।

"म आफै विपद् व्यवस्थापनको विषयमा ११ वर्ष काम गरिसकेको व्यक्ति हु। यो विषयहरू देखिरहँदा मलाई पनि गाह्रो भएको थियो," उनले भने, "म आफै पनि यस्तो विषयमा धेरै खटेको भएर यो अझै राम्रो हिसाबले गर्न सकिन्थ्यो होला भन्ने लागेको थियो।"

डोजर चलाइएपछि विस्थापितहरूलाई टेन्टमा राख्ने, सरसफाइको कुरा, स्थानान्तरण गर्ने कुराहरू विपद् पछिको कार्यहरू भएको उनले बताए। यसको अनुगमनमा आफै जानेसमेत उनले बताए।

जेठ २८, २०८३ बिहीबार १८:३८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।