रसुवामा बाढीले छोरा बगायो, सोलुखुम्बुको खोलामा आमा बिलाइन्
काठमाडौं : भदौ १६ गते राति सोलुखुम्बुको लिखुपिके गाउँपालिका-१, किन्जास्थित घरमा ५८ वर्षीया डोल्मा याङ्जी शेर्पाले आफ्ना शरीरका सबै गरगहना खाटमै फुकालेर राखिन्। त्यसपछि हातमा एउटा टर्चलाइट लिएर उनी अँध्यारोमा निस्किइन्।
घरपरिवारसँग उनको त्यो अन्तिम क्षण थियो। त्यसपछि उनी कहिल्यै फर्किनन्। आफूले लगाएका गहना सुरक्षित छाडेर राति नै निस्किनुको कारण थियो- भोटेकोशीको बाढीमा बेपत्ता भएका छोराको वियोग।
रामेछापको उमाकुण्ड गाउँपालिका-१ गुम्देल (तेछीम) का ङिमा शेर्पाको मुख्य काम नै जलविद्युत् आयोजनामा श्रम गर्नु थियो। गाउँ नजिकैको लिखु हाइड्रोपावरमा केही वर्ष काम गरेपछि उनी रोजगारीकै सिलसिलामा रसुवा पुगेका थिए।
रसुवा हाइड्रोपावरमा ङिमासँगै उनका दाजु दोर्जे पनि कार्यरत थिए। दुई भाइको कमाइबाटै परिवारको दैनिकी चलिरहेको थियो। तर, गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले त्यो दिनचर्या एकाएक रोकियो। हाइड्रोपावरको कम्पाउन्डभित्र काम गरिरहेकै बेला बाढी पसेपछि ङिमा बेपत्ता भए।
काठमाडौंको त्यो सूचना
छोरा बाढीमा हराएको खबर पाएपछि आमा डोल्मा याङ्जी खोजीका लागि काठमाडौं पुगिन्। छोरा कतै फेला परिहाल्छ कि भन्ने आशा उनमा थियो।
तर, हाइड्रोपावर कम्पनीले ङिमा अब जीवित भेटिने सम्भावना न्यून रहेको जानकारी दिएपछि उनी निराश हुँदै घर फर्किइन्। काठमाडौंबाट फर्केपछि परिवार ङिमाको मृत्यु भइसकेको निष्कर्षमा पुग्यो।
त्यसपछिका दिनहरूमा डोल्मा गहिरो मानसिक तनावमा थिइन्। उनी आफूलाई सम्हाल्न सकिरहेकी थिइनन्।
भदौ १६ गते राति अबेरसम्म घरमा अर्का छोरा दोर्जे र आफन्तहरूबीच एउटै विषयमा छलफल भयो- बेपत्ता ङिमाको परम्पराअनुसार अन्तिम संस्कार कसरी सम्पन्न गर्ने?
छलफल सकिएपछि सबैजना सुत्न गए। तर, डोल्मा भने ओछ्यानमा बस्न सकिनन्। उनले आफ्ना गहनाहरू कोठामा छाडिन् र टर्चलाइट लिएर घरबाट निस्किइन्।
भोलिपल्ट भदौ १७ गते बिहान ओछ्यान रित्तो देखेपछि परिवारले उनको खोजी सुरु गर्यो। तर, आसपासका क्षेत्रमा कतै भेटिइनन्। हराएको पाँच दिनपछि, भदौ २१ गते उनी बस्दै आएको किन्जाभन्दा निकै टाढा रहेको खोलामा डोल्माको शव फेला पर्यो।
एउटै परिवारमा दोहोरो शोक
शव भेटिएपछि सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुर्याएर पोस्टमार्टम गरियो र शेर्पा परम्पराअनुसार उनको अन्तिम संस्कार सम्पन्न भयो।
उनका भाइ पेम्बा शेर्पाका अनुसार छोराको वियोगको मानसिक धक्का सहन नसक्दा दिदीले यस्तो बाटो रोजेकी हुन्।
रसुवाको भोटेकोशीमा आएको बाढीले कार्यस्थलमा खटिएका मजदुर ङिमालाई बगायो भने त्यसको केही दिनभित्रै सोलुखुम्बुमा उनकी आमाले पनि ज्यान गुमाइन्।
भदौ २७, २०८३ शनिबार १०:३१:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।