बाली जोगाउन वडाको ‘कमान्डो पहरा’ : बाँदरलाई ‘हेरालु’, बँदेललाई ‘काँडेतार’
पाल्पा : उज्यालो नहुँदै काँधमा गुलेली र हातमा नक्कली बन्दुक बोकेर बारीको कान्लामा तैनाथ हुनु। दिनभरि आँखा नझिम्क्याई मकैका पात र सुत्ला नियाल्नु। अनि जङ्गलको छेउबाट बाँदरको हुल देखिनेबित्तिकै चिच्याउँदै, गुलेली ताक्दै लखेट्नु।
दुई वर्षअघिसम्म पाल्पाको रिब्दीकोट गाउँपालिका-१, ख्याहाका किसानको दैनिकी यसरी नै बित्थ्यो। दिनभर बाँदरसँग लडेर लखतरान परेका किसानलाई साँझ परेपछि पनि सुख मिल्दैनथ्यो।
रात छिप्पिँदै जाँदा जङ्गली बँदेल बारीमा पसेर मकै सखाप पार्ला भन्ने चिन्ताले निद्रा नै हराउँथ्यो। जेठ महिनामा बीउ छरेदेखि भदौमा मकै भाँच्ने बेलासम्म किसान न दिनमा ढुक्क हुन पाउँथे, न रातमा।
वर्षभरिको मिहिनेत जङ्गली जनावरको आहारा बन्न थालेपछि किसानहरूमा चरम निराशा छाएको थियो। कतिपयले त ‘खेती गरेर के गर्नु, जङ्गललाई नै बुझाउनुपर्छ’ भन्दै जमिन बाँझै छाड्ने मनस्थिति बनाइसकेका थिए।
तर, २०८० पछि भने ख्याहाको यो पीडादायी दृश्य फेरिएको छ। किसानको बारी जोगाउन स्थानीय वडा कार्यालयले एउटा नौलो जुक्ति निकाल्यो- ‘दिनमा हेरालु, रातमा काँडेतार जाली।’
वडा कार्यालयले थालेको यो अभियानले अहिले किसानले केही राहत महसुस गरेका छन्। बिहानैदेखि रात नपरीन्जेलसम्म आफैँ बारी कुर्नुपर्ने बाध्यताबाट किसानहरू मुक्त भएका छन्।
स्थानीय किसान सूर्यबहादुर विक (सुनार) विगत सम्झिँदै भन्छन्, “दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसोमा बाँदर आएर बाली खाएर हैरान पार्थे। अहिले वडाले हेरालु र जालीको व्यवस्था गरिदिएपछि जङ्गली जनावरले बालीनाली नोक्सान गर्न पाएका छैनन्।”
अर्का स्थानीय किसान रामप्रसाद न्यौपानेको अनुभव पनि उस्तै छ। दिनभर आफैँ पहरा दिनुपर्ने झन्झटबाट मुक्ति मिलेपछि गाउँमा मकै खेतीप्रति किसानको आकर्षण फेरि फर्किएको उनी बताउँछन्।
“बाली जोगिने भएपछि किसानमा जाँगर चलेको छ”, न्यौपाने भन्छन्।
दिनभर ‘हेरालु’को मोर्चा
गाउँमा बाँदरको आतङ्क रोक्न वडा कार्यालयले विशेष अभियान नै चलाएको छ। बाँदरले अत्यधिक सताउने साउन र भदौ महिनाका लागि वडाले वर्षेनि नौ जना ‘बाँदर हेरालु’ कर्मचारी करारमा खटाउने गरेको छ।
भूगोल र बाँदरको जोखिम हेरेर ख्याहाको धैरेनी मेयालपानी र रातामाटा-कोटफेरा क्षेत्रमा छ जना तथा जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु परिचालित छन्।
उनीहरू बिहान ५ बजे नै बारीको मोर्चामा पुग्छन् र रातको ८ बजेसम्म निरन्तर पहरा दिन्छन्। बाँदर लखेट्न उनीहरूलाई गुलेली, नक्कली बन्दुक र आवाज निकाल्ने गोलाबारुद (पटाका) जस्ता सामग्री उपलब्ध गराइएको छ।
बाँदर हेरालुका रूपमा कार्यरत विष्णुबहादुर सुनार भन्छन्, “हामी बिहान ५ बजेदेखि राति ८ बजेसम्म बारी आसपासमै खटिन्छौँ। बाँदरको ठूलो बथान आएको बेला सबै मिलेर धपाउँछौँ। सामान्य अवस्थामा हामी आफैँले बारीको रेखदेख गर्ने भएकाले किसानलाई घरव्यवहार र अन्य काम गर्न निकै सजिलो भएको छ।”
रातको सुरक्षामा काँडेतारको पर्खाल
दिनमा हेरालुले बाँदर लखेटे पनि रातको समयमा बँदेल, दुम्सी, मृग, घोरल र खरायो जस्ता वन्यजन्तु बालीमा पस्ने ठूलो जोखिम रहन्थ्यो। यसलाई रोक्न वडाले गत आर्थिक वर्षमा नमुनाका रूपमा खेतबारी वरिपरि बलियो काँडेतारको जाली लगाइदिएको थियो।
यो काँडेतारले राति आउने वन्यजन्तुलाई रोक्न मात्र मद्दत गरेन, दिउँसोमा बाँदरलाई समेत जालीमा चढ्न कठिनाइ उत्पन्न गरायो। यसको प्रभावकारिता देखिएपछि वडाले यस वर्ष पनि यसलाई निरन्तरता दिएको छ। चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतार जाली लगाउन बजेट विनियोजन गरिएको छ।
जङ्गली जनावरकै कारण खेतबारी बाँझो रहने र अन्ततः गाउँ नै रित्तिने गरी बसाइँसराइ बढ्ने जोखिम देखेपछि यो नीतिगत कदम चालिएको वडाध्यक्ष चिरञ्जीवी पोखरेल बताउँछन्।
“किसानले पसिना बगाएर लगाएको बाली जङ्गली जनावरले सखाप पारेपछि खेतीयोग्य जमिन बाँझिँदै जाने र गाउँबाटै बसाइँ सर्ने खतरा बढेको थियो,” वडाध्यक्ष पोखरेल भन्छन्, “त्यसैले हामीले स्थानीय किसानको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर बाँदर र बँदेल लाग्ने मुख्य क्षेत्रहरूमा हेरालु र जालीको व्यवस्था गरेका हौँ।”
भदौ २७, २०८३ शनिबार ०७:४३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।