बेँसीसहर-चामे सडक आज ८ घण्टा पूर्ण रूपमा बन्द हुने

बेँसीसहर-चामे सडक आज ८ घण्टा पूर्ण रूपमा बन्द हुने

लमजुङ : लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ।

मनाङको नासो गाउँपालिका-३, धारापानी खण्डमा सडक ढलान गर्नुपर्ने भएकाले आवागमन ठप्प पारिन लागेको हो।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले धारापानी क्षेत्रमा करिब ५० मिटर सडक ढलान गर्न लागेको हो।

सडक साँघुरो भएको र दुवैतर्फ बस्ती रहेका कारण ढलानका क्रममा वैकल्पिक मार्ग (डाइभर्सन) बनाउन सम्भव नभएपछि सडक पूर्ण रूपमा बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।

आयोजनाको कामलाई तीव्रता दिन आज बिहान ९:०० देखि साँझ ५:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

साँझ ५ बजेपछि साना सवारी खुले पनि ढलान नजम्दासम्मका लागि भोलि बिहान १० बजेसम्म भने ठूला तथा भारी सवारीसाधन सञ्चालन गर्न नपाइने प्रजिअ खनालले जानकारी दिए।

भदौ २७, २०८३ शनिबार ०८:४२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।