एनसेलको ललितपुरस्थित डाटा सेन्टरले पायो अन्तर्राष्ट्रिय ‘रेटेड ३’ प्रमाणीकरण
काठमाडौं : ललितपुरको नख्खुस्थित एनसेलको डाटा सेन्टरले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘एएनएसआई/टीआईए-९४२-सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी सर्टिफिकेसन’ प्राप्त गरेको छ। यो प्रमाणीकरण प्राप्त गर्ने एनसेलको डाटा सेन्टर नेपालकै पहिलो हो।
यो प्रमाणीकरणले एनसेलको डाटा सेन्टरमा प्रतिकूल अवस्थामा पनि बिनाअवरोध सेवा सञ्चालन गर्न सक्ने उच्च उपलब्धता, सुरक्षा र प्राविधिक सक्षमता रहेको पुष्टि गर्छ।
९९.९८२ प्रतिशत अपटाइम (सञ्चालन अवधि) रहने यो डाटा सेन्टरमा मर्मत वा आकस्मिक घटनाहरूका बेला पनि बिनाअवरोध सेवा दिन पूर्ण रूपमा वैकल्पिक विद्युत आपूर्ति, कुलिङ र नेटवर्क प्रणाली जडान गरिएको छ।
टेलिकम्युनिकेसन इन्डस्ट्रिज एसोसिएसनबाट आधिकारिकता प्राप्त संस्था ‘डाटा सेन्टर मिडिया एलएलपी’ले यसको मूल्यांकन तथा प्रमाणीकरण गरेको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यो प्रमाणीकरण नेपालको डिजिटल पूर्वाधार विकासमा एक कोशेढुङ्गा भएको बताएका छन्।
यसबाट बैंक, वित्तीय संस्था, बिमा कम्पनी र सरकारी निकायहरूले सुरक्षित रूपमा नेपालभित्रै आफ्ना संवेदनशील डाटाहरू होस्ट गर्न सक्ने उनको भनाइ छ।
यसअघि एनसेलको यस डाटा सेन्टरले सूचना सुरक्षा र गुणस्तर व्यवस्थापनसम्बन्धी आईएसओ २७००१, २७७०१, ९००१ र १४००१ प्रमाणीकरणहरू पनि प्राप्त गरिसकेको छ।
जेठ २७, २०८३ बुधबार १४:२९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।