नयाँ बजेटको प्रभाव : लिपमोटर बी१० को मूल्य ५ लाखले घट्यो
काठमाडौं : नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले ‘लिपमोटर बी१०’को टप भेरियन्टको मूल्य घटाएको छ।
सरकारले ल्याएको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य ६० लाख रुपैयाँबाट ५ लाखले घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।
साङ्ग्रिला मोटर्सले जेठ २४ गते उत्तरढोकास्थित शोरुममा एक विशेष कार्यक्रम आयोजना गरी परिमार्जित मूल्य सार्वजनिक गरेको हो।
कार्यक्रममा बोल्दै साङ्ग्रिला मोटर्सका निर्देशक जय गोल्छाले नयाँ मूल्य समायोजनसँगै नेपाली ग्राहकहरूका लागि सुलभ मूल्यमा परिष्कृत इलेक्ट्रिक मोबिलिटी (इभी) भित्र्याउने आफ्नो प्रतिबद्धता पूरा भएको बताए।
नेपाली बजारमा उपलब्ध लिपमोटर बी१० को टप भेरियन्टमा ६७.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री र १६० किलोवाटको मोटर जडान गरिएको छ।
अत्याधुनिक एडास प्रविधि, युरो एनक्याप ५-स्टार सेफ्टी रेटिङ, स्न्यापड्रयागनद्वारा सञ्चालित स्मार्ट ककपिट र ६०० किलोमिटरको रेन्ज भएको यो गाडीलाई प्रविधिमैत्री र सुरक्षित एसयूभीका रूपमा बजारमा उतारिएको छ।
लिपमोटर विश्वप्रसिद्ध अटोमोबाइल समूह ‘स्टेलान्टिस’द्वारा समर्थित ब्रान्ड हो। स्टेलान्टिस समूह मातहत जिप, प्युजो र मसेराटीसहित १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू रहेका छन्।
विश्वका ४० भन्दा बढी देशहरूमा १ हजार ७०० भन्दा बढी सेवा सञ्जाल रहेको लिपमोटरले हालै विश्वभर १० लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ। कम्पनीका अनुसार गत मे महिनामा मात्रै विश्वभर ८१ हजार ५६९ युनिट गाडी डेलिभरी भएका छन्।
जेठ २७, २०८३ बुधबार १४:१८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।