नेपाल र भारतबीच सिधा डिजिटल रेमिट्यान्स सेवा सुरू
काठमाडौं : नेपाल र भारतबीच रियल टाइम अन्तरदेशीय डिजिटल रेमिट्यान्स सेवा सुरु भएको छ।
भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन इन्टरनेशनल र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीचको सहकार्यमा भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई एकीकृत गरी यो सेवा सुरु गरिएको हो।
यो साझेदारीसँगै दुई देशबीच हुने रेमिट्यान्स अब सुरक्षित, तत्काल (रियल टाइम) र कम लागतमा गर्न सकिनेछ। यस प्रणालीमार्फत भारत र नेपालमा रहेका प्रयोगकर्ताहरूले व्यक्ति-व्यक्तिबीच सहजै रकम स्थानान्तरण गर्न सक्नेछन्।
प्रयोगकर्ताहरूले आफ्नो मोबाइल नम्बर, भर्चुअल पेमेन्ट एड्रेस वा यूपीआई आईडी प्रयोग गरी संवेदनशील बैंक खाताको विवरण आदानप्रदान नगरी सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।
हाल यो सेवा केही बैंकहरूमा मात्र उपलब्ध भए पनि क्रमिक रूपमा अन्य बैंकहरूमा पनि विस्तार गरिने एनसीएचएलले जनाएको छ।
एनपीसीआई इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले यो अन्तरआबद्धता दुवै देशको वित्तीय समावेशीकरण र डिजिटल सम्बन्धलाई बलियो बनाउने महत्त्वपूर्ण कदम भएको बताएका छन्।
यो सेवाले जी-२० को सीमापार भुक्तानीलाई सहज बनाउने उद्देश्यलाई समेत सहयोग पुर्याउने विश्वास लिइएको छ।
जेठ २७, २०८३ बुधबार १४:०१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।