भान्सामा मन्द विष : तरकारीमा प्रतिबन्धित विषादी, दूधमा ‘सोडा’ र ‘न्यूट्रिलाइजर’

भान्सामा मन्द विष : तरकारीमा प्रतिबन्धित विषादी, दूधमा ‘सोडा’ र ‘न्यूट्रिलाइजर’

बुटवल : भान्साको भएका हरियो काउली, सलादका लागि काटिएको ताजा काँक्रो र गिलासभरि खन्याइएको दूध- यी तीन वस्तु नेपाली परिवारको भान्साका नियमित दृश्य हुन्।

तर, बुटवल बजारमा आउने तिनै हरिया तरकारीमा जीवन नै जोखिममा पार्ने प्रतिबन्धित विषादी र दूधमा अमिलोपना लुकाउन प्रयोग गरिने ‘सोडा’ जस्ता घातक रसायन प्रयोग भइरहेको पुष्टि भएको छ।

ताजा र पोषिलो ठानेर उपभोक्ताले खरिद गरिरहेका दैनिक उपभोग्य खाद्यवस्तु नै अहिले नागरिकका लागि ‘मन्द विष’ बनिरहेका छन्।

तरकारीमा अत्यधिक विषादी
कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, बुटवलले जेठ महिनाको दोस्रो र तेस्रो साता गरेका विभिन्न परीक्षणहरूले बजारको भयावह अवस्था देखिएको छ।

प्रयोगशालाले सङ्कलन गरेका नमुनाहरूमध्ये दुईवटा मानव उपभोगका लागि पूर्ण रूपमा घातक ठहरिएर नष्ट गरिएका छन् भने एउटा नमुनालाई तत्काल बजारमा बेच्न रोक लगाउँदै ‘क्वारन्टिन’ मा राखिएको छ।

जेठ १२ गते चितवनबाट बुटवल बजारमा भित्रिएको काँक्रोको नमुना परीक्षण गर्दा अर्गानोफस्फेट समूहको विषादी अवशेष ४७.७१ प्रतिशत भेटिएको थियो।

मनिष बर्नवालले आपूर्ति गरेको उक्त ५०० केजी काँक्रोलाई बुटवल उपमहानगरपालिका र प्राविधिकको टोलीले तत्काल जफत गरी नष्ट गरेको थियो।

जेठ २२ गते रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट बजार भित्रिएको काउलीमा विषादीको मात्रा सीमा नाघेर ५०.८९ प्रतिशत पुगेको भेटियो। अमर सब्जी पसलमार्फत बजारमा आएको उक्त काउलीलाई पनि प्रयोगशालाको निर्देशनानुसार नष्ट गरिएको थियो।

जेठ २३ गते यस भण्डारले ल्याएको काउलीमा समेत ३७.६० प्रतिशत अर्गानोफस्फेट भेटिएपछि त्यसलाई केही दिन अलग्गै राखेर विषादीको असर कम भएपछि मात्र पुनः परीक्षण गरेर बेच्न निर्देशन दिइएको छ।

यसअघि कृषि उपज थोक बजार केन्द्र, बुटवलमा चितवनबाट ल्याइएको तन्ने बोडीमा मानव स्वास्थ्यका लागि हानिकारक मात्रामा विषादी भेटिएको थियो। थोक बजार केन्द्रस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उक्त बोडीमा ९७.०६७ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी अवशेष फेला परेपछि १२० केजी बोडी नष्ट गरिएको थियो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई, बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले भने, ‘परीक्षणका क्रममा बोडी खानै नमिल्ने अवस्थामा भेटिएपछि नष्ट गरिएको हो।’

प्राविधिकहरूका अनुसार तरकारीमा अर्गानोफस्फेट वा कार्बामेट समूहको विषादीको ‘रुकावट प्रतिशत’ (इन्हिबिसन प्रतिशत) ४५ भन्दा बढी भएमा त्यो सिधै नष्ट गर्नुपर्ने हुन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भएमा केही दिन राखेर मात्र प्रयोग गर्न मिल्छ भने ३५ प्रतिशतभन्दा कम भएमा मात्र खान योग्य मानिन्छ।

१२ मध्ये १० सप्लायर्सको दूधमा ‘सोडा’ र ‘न्यूट्रिलाइजर’
तरकारीको विषादीले आत्तिएका उपभोक्ताका लागि दूधको प्रयोगशाला रिपोर्ट झन् खतरनाक छ।

बुटवल उपमहानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाको संयुक्त छड्के अनुगमनका क्रममा बजारमा दूध आपूर्ति गर्ने १२ वटा ठूला सप्लायर्समध्ये १० वटाको दूधमा ‘सोडा’ र ‘न्यूट्रिलाइजर’ जस्ता रसायन मिसाइएको पुष्टि भएको छ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले भनिन्, ‘कपिलवस्तु, नेपालगञ्ज, रुपन्देहीको मर्चवारी तथा शुद्धोधन गाउँपालिकाबाट संकलन भई बुटवल आउने दूध लामो समयसम्म नफाटोस् भनी संकलकहरूले दूधमा ‘सोडा’ र ‘न्यूट्रिलाइजर’ जस्ता रसायन मिसावट गर्ने गरेका छन्। यस्ता दूधमा हुनुपर्ने आवश्यक फ्याट र एसएनएफ (सोलिड नट फ्याट) को मात्रा समेत सरकारी मापदण्डभन्दा निकै कम पाइएको छ।’

बाहिरी जिल्लाबाट आउने तरकारी बढी जोखिममा
उपप्रमुख अर्यालका अनुसार बाहिरी जिल्ला र ग्रामीण क्षेत्रबाट आउने खाद्यवस्तुमा गम्भीर लापरबाही देखिएकाले पछिल्लो समय अनुगमनलाई तीव्र पारिएको र खान अयोग्य तरकारीलाई नष्ट गर्ने काम भइरहेको छ।

उनले थपिन्, ‘किसानहरूले काउली, गोलभेडा, खुर्सानी, काँक्रो, बोडी र लौकालगायतका तरकारीमा उत्पादन बढाउन नियमित विषादी त प्रयोग गर्छन्, तर कतिपयले विषादी छरेको भोलिपल्टै टिपेर बजार पठाइदिँदा उपभोक्ताको ज्यान जोखिममा परेको छ।’

उनले सीमाभन्दा बढी विषादी र रसायन भेटिएका वस्तु जफत गरी नष्ट गरिरहेको बताउँदै किसानलाई प्रतीक्षा अवधि (विषादी हालेपछि पर्खनुपर्ने समय) पालना गर्न आग्रह समेत गरिन्।

उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष समुन्द्र जिसी भने क्षणिक आर्थिक लाभका लागि आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने कृषक र सप्लायर्सलाई केवल वस्तु नष्ट गरेर मात्र उन्मुक्ति दिन नहुने बताउँछन्।

जिसीले भने, ‘कम लगानीमा धेरै कमाउने तीव्र लोभले आम नागरिकको स्वच्छ खाना खान पाउने मौलिक अधिकार कुण्ठित भएको छ। यो सिधै फौजदारी अपराध हो, यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउनैपर्छ।’

लुकिछिपी प्रतिबन्धित विषादीको प्रयोग
नेपाल सरकारले झन्डै चार वर्षअघि नै अर्गानोफस्फेट र कार्बामेट समूहका कतिपय कडा विषादीहरूलाई प्रतिबन्ध लगाइसकेको छ। तर, खुला सीमाको फाइदा उठाउँदै अझै पनि लुकिछिपी यस्ता कडा रासायनिक विषादी एग्रोभेट र किसानको हातसम्म पुगिरहेका छन्।

भेटेरिनरी चिकित्सक हुमकान्त काफ्लेले जैविक विकल्पहरू हुँदाहुँदै पनि रसायनको प्रयोग बढेको औँल्याए।

काफ्लेले भने, ‘बजारमा निम, बकाइनो, गहत र साबुनपानी जस्ता प्राङ्गारिक एवं जैविक विकल्पहरू छन्। तर, तत्काल कीरा मार्ने र फल बढाउने अन्धधुन्ध प्रतिस्पर्धाले गर्दा रासायनिक मल र कडा विषादीको प्रयोग रोकिन सकेको छैन। किसानमा यसबारे सचेतनाको ठूलो अभाव छ।’

स्वास्थ्यमा गम्भीर असर
स्वास्थ्य विज्ञहरूका अनुसार यस्तो विषादीयुक्त तरकारी र रसायनयुक्त दूधको निरन्तर सेवनले मानव शरीरमा तत्कालीन र दीर्घकालीन दुवै प्रकृतिका भयानक रोगहरू निम्त्याउँछ।

विषादीयुक्त खानाले तत्कालै टाउको दुख्ने, छाती दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने र आँखा धमिलो हुने समस्या देखिन्छ भने दीर्घकालमा यसले मिर्गौला फेल गराउने, कलेजो बिगार्ने, क्यान्सर र ट्युमर गराउने, प्रजनन क्षमता क्षीण गराउने तथा स्नायु प्रणालीमा पक्षघातसम्म ल्याउने जोखिम रहन्छ।

स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र ‘अर्गानिक उत्पादन’ लाई प्रोत्साहन गर्ने र बजारलाई शुद्धीकरण गर्ने चर्का भाषण गरे पनि व्यवहारमा खान अयोग्य खाद्यवस्तु बजार छिर्ने नाकामै बलियो ‘चेकपोस्ट’ र नियमित परीक्षण संयन्त्र स्थापना गर्न सकेका छैनन्।

जेठ २७, २०८३ बुधबार १३:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।