सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्रीको कार्यालय
काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साम्प्रदायिक झडप र त्यसक्रममा प्रहरीको गोली लागेर स्थानीयको मृत्यु भएको घटनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोऊ कार्यालय बोलेको छ।
सुनसरीमा भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लाहरूमा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार बेलुकी आधिकारिक धारणा सार्वजनिक गरेको हो।
जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने उपायहरूसहितको ७ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले काम थालिसकेको विज्ञप्तिमा जानकारी गराइएको छ।
साथै, घटनाका क्रममा घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मिलाइसकेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानुनी कारबाही गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट पार्दै सरकारले भनेको छ, ‘नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ।’
यसका अलावा शान्ति सुव्यवस्था र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ-संस्था, आमसञ्चार माध्यम र सर्वसाधारण जनसमुदायलाई सरकारले हार्दिक आह्वान गरेको छ।
साउन १२, २०८३ मंगलबार २०:४५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।