बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

रसुवा : गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत कार्यलाई तीव्र पारिएको छ।

बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको थियो। करिब २३ अर्ब ७३ करोड रुपैयाँको ठूलो लागतमा निर्माण भएको यो राष्ट्रिय गौरवको आयोजनालाई पूर्ण रूपमा सुचारु गर्न अहिले जनशक्ति र उपकरणहरू परिचालन गरिएको छ।

हाल बाँधस्थलमा थुप्रिएको अवरोध हटाउने कार्य भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोध हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणको सफाइसमेत सम्पन्न गरिएको छ।

बाढीले कटान गरेको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युत्गृह जाने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माणकार्य जारी छ। 

आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक रूपले उत्पादन सुरु गरेको थियो। तर २०८२ असार २४ गतेको बाढीले बाहिरी सतहको ड्याम संरचनामा क्षति पुर्याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको बताइएको छ। त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको थियो।

आयोजनामा चार दशमलव आठ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत्गृहमा पुर्याइन्छ। त्यहाँ जडान गरिएका तीनवटा फ्रान्सिस टर्बाइनबाट अधिकतम एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले बताए। 

जेठ २७, २०८३ बुधबार १३:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।