मदिराले मात्तिएर नाइटक्लबमा झगडा गरेको अवस्थामा भेटिए इङ्ल्यान्डका कप्तान बेन स्टोक्स

मदिराले मात्तिएर नाइटक्लबमा झगडा गरेको अवस्थामा भेटिए इङ्ल्यान्डका कप्तान बेन स्टोक्स

एजेन्सी : न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा जित हात पारेको खुसीयाली मनाउने क्रममा इङ्ल्यान्डका कप्तान बेन स्टोक्स र तीव्र गतिका बलर गस एटकिन्सन मदिरा विवादमा मुछिएका छन्।

सोमबार बिहान लन्डनको एक नाइटक्लबमा भएको अनुशासनहीन घटनामा संलग्न भेटिएपछि उनीहरूको कप्तानी र खेल जीवन नै संकटमा परेको हो।

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी)ले खेलाडीहरूबाट नियम उल्लंघन भएको स्वीकार गर्दै छानबिन सुरू गरेको छ।

सोमबार बिहान लन्डनको नाइटक्लबमा स्टोक्स र एटकिन्सनको ‘सारासेन्स रग्बी क्लब’का खेलाडी टोटोआ अउवासँग विवाद भएको थियो। सो क्रममा झगडालाई नियन्त्रण गर्न खोज्दा इङ्ल्यान्ड टोलीका एक सुरक्षा गार्ड घाइते भएका छन्।

पछिल्लो नौ महिनामा इङ्ल्यान्ड टोलीका कम्तीमा ६ जना खेलाडीहरू मदिराजन्य विवादमा परिसकेका छन्। यसअघि ह्यारी ब्रुक, ज्याकब बेथेल, जोश टङ र बेन डकेट पनि यस्तै विवादमा आएका थिए।

एसेज शृङ्खलामा बेहोरेको लज्जास्पद हारपछि टोलीमा अनुशासन कायम राख्न मदिरा सेवन र रात्रिकालीन गतिविधिमा प्रतिबन्ध लगाइएको थियो। तर, पहिलो खेल जित्नासाथ कप्तान स्टोक्स आफैँले उक्त नियम तोडेका छन्।

कप्तान स्टोक्सको विवादसँग पुरानो नाता छ। सन् २०१३ मा अत्यधिक मदिरा सेवनकै कारण उनलाई इङ्ल्यान्ड लायन्सको भ्रमणबाट घर फिर्ता पठाइएको थियो।

त्यस्तै, सन् २०१७ मा ब्रिस्टल नाइटक्लब बाहिर भएको कुटपिटको घटनाका कारण उनको खेल जीवन झन्डै समाप्त भएको थियो।

न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट सुरु हुन लागेका बेला मुख्य खेलाडीहरू नै कारबाहीमा पर्न सक्ने भएपछि इङ्ल्यान्ड टोली दबाबमा परेको छ। स्टोक्स निलम्बित भएमा कप्तानी कसलाई सुम्पिने भन्नेमा इसिबी धर्मसंकटमा परेको छ।

कप्तानीका मुख्य दाबेदार मानिएका ह्यारी ब्रुक आफैँ पनि केही महिनाअघि नाइटक्लब विवादमै मुछिएका थिए।

प्रशिक्षक ब्रेन्डन म्याकुलम र इसिबी नेतृत्वको खुकुलो अनुशासन नीतिका कारण खेलाडीहरूमा यस्तो प्रवृत्ति बढेको भन्दै आलोचना समेत हुन थालेको छ।

जेठ २७, २०८३ बुधबार ११:१४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।