वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न, १ अर्ब २६ करोड राजस्व सङ्कलन
काठमाडौं : यस वर्षको वसन्त ऋतुको हिमाल आरोहण कार्य सम्पन्न भएको छ।
पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथासहित ३१ वटा हिमाल आरोहणका लागि १ हजार १९५ आरोहीले अनुमति लिएका थिए।
हिमाल आरोहण अनुमतिवापत सरकारले कुल रु १ अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ राजस्व सङ्कलन गरेको छ।
राजस्वमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु १ अर्ब ८ करोड १० लाख सङ्कलन भएको छ।
यस्तै लोत्सेबाट रु ६ करोड ६८ लाख, मकालु पहिलोबाट रु ३ करोड १७ लाख, आमादब्लमबाट रु १ करोड ६६ लाख र कञ्चनजङ्गाबाट रु १ करोड ६५ लाख रोयल्टी उठेको छ।
यस वर्ष सगरमाथा आरोहणका लागि ५६ देशका ४९५ जनाले अनुमति लिएका थिए, जसमा सहयोगी तथा गाइडसहित १ हजारभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन्।
आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १५९, अमेरिकाका १५२ र भारतका १०१ जना रहेका छन्।
यसै सिजनमा सोलुखुम्बुका कामिरीता शेर्पाले सगरमाथाको सफल आरोहण गरी आफ्नै विश्व कीर्तिमान तोडेका छन्।
यस्तै, महिलातर्फ सङ्खुवासभाकी लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरेकी छन्।
जेठ २७, २०८३ बुधबार ०७:४०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।