नेपाली हस्तकला र महिला उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै मेरियट र उन्नति

नेपाली हस्तकला र महिला उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै मेरियट र उन्नति

काठमाडौं : नेपाली परम्परागत सीप, महिला उद्यमशीलता र स्थानीय हस्तकलालाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्न उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच रणनीतिक साझेदारी भएको छ।

काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोटले समझदारी पत्रमा हस्ताक्षर गरे। 

हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियट लगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। चौधरी फाउन्डेसन अन्तर्गतको पहल ‘उन्नति’ले नेपाली मौलिक हस्तकला र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने काम गर्दै आएको छ। 

यस सहकार्यको मुख्य उद्देश्य स्थानीय सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुका साथै ती उत्पादनहरूलाई मेरियट र यससँग आबद्ध होटलहरूमा प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाको खोजी गर्नु रहेको छ। सम्झौता अनुसार उन्नतिले आफ्नो प्रिमियम ब्रान्ड ‘सिया’मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास र छनोट गर्नेछ।

साथै, योग्य हस्तकला निर्माता र महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको पहिचान, उत्पादनको गुणस्तर सुनिश्चितता, ब्रान्डिङ र कथा प्रस्तुतीकरणका कार्यहरू समेत उन्नतिले गर्नेछ। मेरियटले आफ्ना होटलहरूलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्नेछ। 

छनोट भएका नेपाली उत्पादनहरूलाई आफ्ना होटलहरूमा प्रदर्शनी तथा प्रवर्द्धन गर्ने र होटल सञ्चालन सामग्री तथा उपकरण (अपरेटिङ सप्लाई एन्ड इक्विपमेन्ट) मा समावेश गर्ने विषयमा समेत मेरियटले सहजीकरण गर्ने सम्झौतामा उल्लेख छ। 

जेठ २६, २०८३ मंगलबार १८:४१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।