छानबिन समिति प्रतिवेदन ग्रहण गरेलगत्तै सुधनलाई गृह फर्काउँदै वालेन्द्र, मानवअधिकार आयोगको सिफारिस पनि लत्याइयो
काठमाडौं : शंकास्पद सम्पत्ति र दीपक भट्टसँगको सम्बन्धको विवादमा तानिएपछि राजीनामा दिएका सुधन गुरूङ पुन: गृहमन्त्रीमा फर्कने भएका छन्।
छानबिन समितिले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्बाट ग्रहण गरे लगत्तै अध्ययन नै नगरी प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई गृहमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
उच्च स्रोतका अनुसार आज तीन बजे उनको शपथ ग्रहण हुँदैछ।
छानबिन समितिले जग्गा खरिदमा वास्तविक थैली छलेको, जग्गा पास गर्दा गुरूङ आफैँ उपस्थित नभएको उल्लेख गरे पनि त्यसको दोष भने राजश्व छल्ने खरिदकर्ता गुरूङलाई नदेखाई प्रणालीलाई देखाएको थियो। कर तिर्ने दायित्व क्रेताको हो।
सुनमा पनि सबैको स्रोत पैतृक देखाएको समितिले प्रष्ट उल्लेख गरेको छैन।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकद मन्त्री सस्मित पोखरेलले अध्ययन गर्नै बाँकी रहेको बताएका थिए।
उनले भनेका थिए, ‘प्रतिवेदन ग्रहण गर्ने निर्णय बल्ल भयो। ग्रहण भएर अध्ययन होला। त्यसपछि आवश्यक निर्णय होला। फाइल ग्रहण गरेर अध्ययन गरेर शपथ ग्रहण गर्ने होला नि पछि गर्नुपर्यो भने।’
तर, प्रतिवेदन बुझेको केही घण्टामै त्यसलाई अध्ययन र सार्वजनिक नै नगरी उनलाई गृहमन्त्रीको रूपमा सपथ खुवाउने तयारी हुँदैछ।
छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म उनीमाथिको शंका कायमै रहने भए पनि प्रधानमन्त्री वालेन्द्रले उनैलाई गृहमन्त्रीमा सिफारिस गरेका हुन्।
यसबीचमा सार्वजनिक भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारांशमा जेनजी आन्दोलनमा गुरूङको भूमिका शंकास्पद देखिएको भन्दै उनीबारे थप अनुसन्धान गर्न सिफारिस गरेको थियो।
सरकारले आयोगको प्रतिवेदन कार्यान्वयनको साटो उल्टो छानबिनको सिफारिसमा परेकालाई मन्त्री नियुक्त गरेर आयोगको सिफारिस अवज्ञा गर्ने बाटो समेत समातेको छ।
सम्बन्धित समाचार
जेठ २६, २०८३ मंगलबार १३:२२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।