हेटौँडा सिमेन्टमा चरम आर्थिक संकट, दैनिक सञ्चालन खर्चसमेत छैन

हेटौँडा सिमेन्टमा चरम आर्थिक संकट, दैनिक सञ्चालन खर्चसमेत छैन

मकवानपुर : दिगो आर्थिक स्रोतको व्यवस्थापन नहुँदा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग अहिले टाट पल्टिने अवस्थामा पुगेको छ, जसका कारण २५० भन्दा बढी कर्मचारीले विगत एक वर्षदेखि पारिश्रमिक पाउन सकेका छैनन्।

उद्योगले कोइला खरिद र दैनिक सञ्चालन खर्चसमेत जुटाउन नसक्ने गरी आर्थिक सङ्कटको सामना गर्नु परिरहेको छ। 

यसअघि उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्टको बोरा काठमाडौं, वीरगञ्ज, हेटौँडा, चितवनको नारायणगढ, पोखरा, धनगढी र विराटनगरमा बिक्री वितरण हुने गरेकामा हाल शून्य अवस्थामा पुगेकाले पनि आर्थिक सङ्कट उत्पन्न भएको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले बताए।

उनले काठमाडौं, हेटौँडालगायत अन्य सहरमा थप सिमेन्ट बिक्री गर्न सम्बन्धित डिलर, स्थानीय उपभोक्ता, विकास आयोजना प्रमुखसँग प्रत्यक्ष संवाद गरिरहेको जानकारी दिए। प्रत्येक बोरा सिमेन्टमा केही प्रतिशत मूल्य घटाइने पनि उनले उल्लेख गरे।

अहिले करिब ७०-७५ हजार बोरा सिमेन्ट प्याकिङ गरिएको उद्योगका प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार यहाँबाट उत्पादित प्रत्येक बोरा सिमेन्टको बजार मूल्य ७२४ पर्नेछ।

हेटौँडा, काठमाडौं, वीरगञ्ज, पोखरालगायत प्रमुख सहरमा निजी क्षेत्रबाट उत्पादित सिमेन्टभन्दा यहाँबाट उत्पादित सिमेन्ट प्रतिबोरा ७० भन्दा बढी पर्ने गरेको नेपाल पत्रकार महासङ्घ मकवानपुर पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले अनुभव सुनाए। मूल्य बढी पर्ने भएकाले सिमेन्ट बिक्रीमा कमी आएको हुनसक्ने हेटौँडा उपमहापालिका-११ निवासी उपभोक्ता सीताराम बर्तौलाले बताए।

उद्योगका सबै कर्मचारीलाई प्रत्येक महिना सञ्चय कोष कट्टीसहित ९५ लाख ७० हजार रकम तलब भत्ताबापत वितरण गर्नुपर्ने जनाउँदै सहायक प्रबन्धक श्रेष्ठले रकम अभावले नियमित तलब दिन नसकिएको धारणा राखे।

सिमेन्ट स्थानीयमा बजार आपूर्ति गरी आएको रकमबाट पहिलो चरणमा कर्मचारीलाई तलब भत्ता वितरण गर्ने तयारी भइरहेको उनले बताए। दोस्रो चरणमा तीन हजार मेट्रिकटन कोइला खरिद गर्नेतर्फ पहल भइरहेको सहायक प्रबन्धक श्रेष्ठले बताए। उनका अनुसार भरपर्दो आर्थिक विकल्प नहुँदा कर्मचारीले एक वर्षदेखि नियमित रूपमा तलब भत्ता र औषधि उपचार खर्च पाएका छैनन्।

उद्योगमा अहिले स्थायी सेवाअन्तर्गत १३४, करार तथा सुरक्षामा ५३ र ठेकेदारमार्फत मजदुरीमा ७० जना कर्मचारी कार्यरत रहँदै आएका उद्योग व्यवस्थापनले जनाएको छ। उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहे पनि विभिन्न उपकरण जीर्ण हुँदै जाँदा हाल दैनिक १२ हजार बोरा मात्र सिमेन्ट उत्पादन भइरहेको सहायक प्रबन्धक श्रेष्ठले जानकारी दिए।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडाको लामसुरेमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको हो। उद्योगलाई तत्कालीन सरकारले एसियाली विकास बैंकको लागत सहयोगमा एक अर्ब ५० करोड लगानी गरेको थियो।

जेठ २५, २०८३ सोमबार २१:४७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।