भाटभटेनीमा शून्य प्रतिशत ब्याजदरमा ग्लोबल आइएमईको ईएमआई सुविधा

भाटभटेनीमा शून्य प्रतिशत ब्याजदरमा ग्लोबल आइएमईको ईएमआई सुविधा

काठमाडौं : ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहुलियतपूर्ण खरिद सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार भाटभटेनीबाट सामान खरिद गर्दा बैंकका सेवाग्राहीले शून्य प्रतिशत ब्याजदरमा 'अन-द-फ्लाई' ईएमआई सुविधा पाउनेछन्।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र सुलभ वित्तीय सेवा दिने उद्देश्यले उक्त सहकार्य गरिएको दुवै संस्थाले जनाएका छन्। सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका स्टोरहरूबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन।

आफ्नो सहजताका आधारमा ३, ६, ९, १२ वा १८ महिनाको भुक्तानी अवधि छनोट गर्न सकिनेछ। यो योजनामा कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन, जसले गर्दा विशेषगरी विद्युतीय र ठूला सामग्री खरिदमा आर्थिक व्यवस्थापनमा सहज हुने बैंकको विश्वास छ।

सहकार्यकै अर्को हिस्सा स्वरूप भाटभटेनीमा नियमित खरिदमा 'ग्लोबल बिबिएसएम क्लब कार्ड' (क्रेडिट कार्ड) जारी गरिने छ। पछिल्लो ३ महिनाको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइनेछ। 

सुरुवातमा यो कार्ड भाटभटेनी र यसको नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ। भविष्यमा सञ्चालन हुने विभिन्न छुट र क्यासब्याक योजनाहरूमा प्राथमिकता पाउनेछन्। यस योजनाको प्राविधिक साझेदारका रूपमा आईएमएस सफ्टवेयर रहेको छ। 

जेठ २५, २०८३ सोमबार १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।