एउटै बजेटले दशकौँका समस्या समाधान हुँदैनन् : अर्थमन्त्री डा. वाग्ले

एउटै बजेटले दशकौँका समस्या समाधान हुँदैनन् : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटै बजेटले समाधान गर्छ भन्ने अपेक्षा राख्नु अव्यवहारिक भएको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३–०८४ को बजेट सम्बन्धी नीति संवाद कार्यक्रमा बोल्दै उनले बजेटको सीमा र यसप्रतिको अपेक्षाबारे स्पष्ट पारे।

मन्त्री वाग्लेले सरकारले कहाँबाट स्रोत जुटाउँछ र कहाँ खर्च गर्छ भन्ने कुराको लगभग ७० प्रतिशत हिस्सा पहिले नै निश्चित भइसकेको जानकारी दिए। उनले बजेटले सबै समाधान हुन्छ भन्ने सोच गलत भएको समेत बताए। 

उनले भने, "स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ। बजेटका सन्दर्भमा अलिकति अतिरञ्जना पनि भएको छ। देशमा दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ कि भन्ने अपेक्षा अलिक अव्यवहारिक पनि छ। सायद हामीले पनि सोही विषयलाई मलजल गरिरहेकै होलाऔं। बजेट आउँछ सबै समाधान हुन्छ भन्ने होइन्। सरकारले कहाँबाट स्रोत जुटाउँछ कहाँ खर्च गर्छ भन्ने कुरामा लगभग ७० प्रतिशत तय भइसकेको हुन्छ।"  

त्यस्तै, विगत तीन दशकदेखि करको दायरा र संरचनामा एकैपटक यति धेरै हेरफेर नगरिएको दाबी गर्दै मन्त्री वाग्लेले यसवर्ष सरकारले त्यसमा प्रयत्न गरेको बताए। यद्यपि, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न नसकिएको उनले स्वीकार गरे। समग्र करहरुको बोझ घटाउने चुनाव अघिको प्रतिबद्धता सरकारले पूरा गर्ने जमर्को गरेको उनको भनाई छ। 

"तीन दशकदेखि एकैपटक यति धेरै करको दायरा संरचनाहरु चलाएका थिएनौं। यसवर्ष प्रयत्न भएको छ। यद्यपी, समयको चापले गर्दा अझ बढि परिपक्कताकासाथ काम गर्न सकिन्थ्यो होला। निर्वाचन अगाडि नै समग्र करहरुको बोझ घटाउँछौं भनेर हामीले बाचापत्रमा भनेका थियौं। त्यो बाचालाई न्याय गर्ने हिसाबले यसमा हात हालेको हौं।"

बजेटले मात्र अर्थतन्त्रका सबै चुनौती समाधान नगर्ने धारणा दोहोर्याउँदै अर्थमन्त्री डा. वाग्लेले बजेटले रोपेका बिऊहरु र त्यसले गरेको केही रणनीतिक लगानीको जगहरुमा निजी क्षेत्रले अर्थतन्त्रलाई वृद्धि गर्ने स्पष्ट पारे।

जेठ २५, २०८३ सोमबार १६:५१:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।