महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

काठमाडौं : महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६-संस्करण ५’ सम्पन्न भएको छ। 

काठमाडौंमा जेठ १७ गते आइतबारदेखि जेठ २० गते बुधबार (चार दिन)सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ भने माछापुच्छ्रे बैंक दोस्रो भएको छ।  

कर्पोरेट क्षेत्रका कर्मचारीहरूबीच भाइचारा र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टोलीले सहभागिता जनाएका थिए।  

विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई जेठ २२ गते शुक्रबार एक विशेष समारोहका बीच पुरस्कार वितरण गरिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंक र उपविजेता माछापुच्छ्रे बैंकलाई ट्रफी हस्तान्तरण गरिएको थियो।  

प्रतियोगितामा उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छ्रे बैंकका स्रिजन सुवेदी, उत्कृष्ट बलर नेपाल बैंकका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट विकेट किपर सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल र उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधानले जितेका छन्। यस्तै,  सानिमा जिआईसी इन्स्योरेन्सले फेयर प्ले अवार्ड जितेको छ। 

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि आयोजक महालक्ष्मी विकास बैंकले यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण प्रायोजक, सहभागी टोली तथा सहयोगी महानुभाव एवं संस्थाहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।  

जेठ २५, २०८३ सोमबार १४:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।