एसियन गेम्स छनोटको उपाधिका लागि नेपालसामु १८९ रनको लक्ष्य, शेर मल्लको चार विकेट

एसियन गेम्स छनोटको उपाधिका लागि नेपालसामु १८९ रनको लक्ष्य, शेर मल्लको चार विकेट

काठमाडौं : सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल भिडन्तमा हङकङले नेपालसामु जितका लागि १८९ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

सिङ्गापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको विशाल योगफल खडा गरेको हो।

हङकङका लागि अंशुमन राथ र शाहिद वासिफले उत्कृष्ट अर्धशतकीय पाली खेले। प्रारम्भिक ब्याटर राथले ४५ बल खेल्दै ६ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८० रनको आक्रामक योगदान दिए भने वासिफले २८ बलमा ५५ रन जोडे।  यस्तै, शिव माथुरले २६ रन बनाए।

पाँचौं विकेटका लागि अंशुमन र शिवबीच ८४ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। एक समय १८ ओभरको समाप्तिमा १७९ रन बनाउँदै विशाल योगफलतर्फ अग्रसर भएको हङकङलाई नेपाली बलरहरूले अन्तिम दुई ओभरमा कसिलो बलिङ गर्दै ९ रनमा रोक्न सफल भएका थिए।

नेपालका तर्फबाट स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले आफ्नो स्पेलको ४ ओभरमा ३२ रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिए। यस्तै, तीव्र गतिका बलर करण केसीले २ विकेट हात पार्दा स्पिनर सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो।

यो खेल जितेर च्याम्पियन बन्न नेपालले १८९ रनको लक्ष्य पछ्याउनुपर्नेछ। यो लक्ष्य सफलतापूर्वक पूरा गरेमा नेपालको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो ‘रन चेज’हुनेछ।

जारी प्रतियोगितामा दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन्। नेपालले समूह चरणमा मलेसिया र चीनलाई तथा सेमिफाइनलमा ओमानलाई हराएको थियो।

यता हङकङले समूह चरणमा ओमान, बहराइन र सिङ्गापुरलाई पाखा लगाउँदै सेमिफाइनलमा मलेसियामाथि जित हासिल गरेर फाइनलको यात्रा तय गरेको हो।

जेठ २५, २०८३ सोमबार १४:१६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।