अर्थमन्त्री वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउन ज्ञानेन्द्र शाहीको माग

अर्थमन्त्री वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउन ज्ञानेन्द्र शाहीको माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले करका दर हेरफेरको गोप्य सूचना चुहावट भएको दाबी गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले बजेट प्रस्तुत हुनुअगावै करका दरहरू हेरफेर हुने संवेदनशील सूचना चुहिएको भन्दै यस प्रकरणमा अर्थमन्त्रीमाथि गम्भीर छानबिन हुनुपर्ने माग गरे।

‘करका दर हेरफेर हुने विषय अर्थमन्त्रीबाहेक अन्य कसैलाई थाहा हुनु हुँदैन। त्यसैले, यस प्रकरणमा अर्थमन्त्रीमाथि निष्पक्ष छानबिन हुनुपर्छ र राजद्रोहको मुद्दा लाग्नुपर्छ’, प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले भने।

सांसद शाहीले कोरला र रसुवागढी नाकाबाट बजेट भाषणअगावै कर तिरेर बजेट घोषणापछि मात्र गाडीहरू नेपाल भित्रिएको प्रसङ्ग उल्लेख गर्दै करका दर हेरफेरको गोप्य सूचना कसरी चुहियो भनी प्रश्न गरे।

उनले यस गम्भीर प्रकरणको सत्यतथ्य पत्ता लगाउन तत्काल ‘संसदीय छानबिन समिति’ गठन गर्न संसद्को ध्यानाकर्षण गराए।

यस संवेदनशील मामिलामा साना कर्मचारीलाई मात्र कारबाहीको दायरामा ल्याएर अर्थमन्त्री चोखिने प्रवृत्ति स्वीकार्य नहुने उनको तर्क थियो।

चीनसँगका कोरला र रसुवागढी नाका हुँदै भित्रिएका करिब १ हजार ५०० थान बीवाईडी विद्युतीय गाडी शङ्कास्पद रूपमा भित्रिएको र कर छली भएको आशङ्कामा सशस्त्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

बजेट सार्वजनिक हुनु ठीक अगाडि ठूलो सङ्ख्यामा गाडीहरूको भन्सार जाँचपास गरिनु र बजेट घोषणापछि मात्र ती गाडीहरू नाका पार गराइनुले करको दर चुहावट भएको आशङ्कालाई बल पुर्याएको भन्दै संसद्मा तीव्र विरोध सुरु भएको हो।

जेठ २५, २०८३ सोमबार १३:४५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।