सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन र एसपीसीसीको दीर्घकालीन सहकार्य
काठमाडौं : विश्व वातावरण दिवस २०२६ को अवसरमा पारेर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि आफ्नो साझेदारीलाई थप सुदृढ बनाएका छन्।
बीवाइडीको विश्वव्यापी दिगोपनको अवधारणा 'कूल द अर्थ बाई १° सेल्सियस' बाट प्रेरित भई सन् २०२५ देखि सुरु गरिएको ‘एभरेष्ट १° इनिसियटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रमा दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका हुन्।
पछिल्ला दशकहरूमा बढ्दो पर्वतारोहण गतिविधि र जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रको वातावरणीय सन्तुलनमाथि गम्भीर दबाब परिरहेको र विभिन्न अध्ययन अनुसार हिमालमा अझै पनि ८० टनभन्दा बढी फोहोर, अक्सिजन सिलिन्डर, प्लास्टिक तथा मानवजन्य फोहोर बाँकी रहेको अनुमानबीच यो पहल चालिएको हो।
सन् २०२६ को वसन्तकालीन आरोहण सिजन पर्यावरण र आरोही संख्या दुवैका दृष्टिले ऐतिहासिक र उल्लेखनीय बनेको छ। यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से गरी कुल ७०१ जना आरोहीहरू सहभागी भएका थिए।
बढ्दो आरोही संख्यासँगै फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सीबीसीएफको सहयोगमा एसपीसीसीले पहिलो पटक क्याम्प–२ मा ‘एभरेष्ट रेन्जर्स बेस’ र मौसमी कार्यालय स्थापना गरेको थियो। उच्च हिमाली क्षेत्रमा परिचालित दुई जना एभरेष्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना, फोहोर व्यवस्थापन अनुगमन, आरोही सचेतना अभिवृद्धि तथा आपतकालीन सहयोग सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
विशेष गरी क्याम्प–३ र क्याम्प–४ (साउथ कोल क्षेत्र) बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा २ केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गरिएको थियो, जसको फलस्वरूप सो क्षेत्रबाट १ हजार २२६ किलोग्राम जलाउन मिल्ने फोहोर, २१० वटा ईपीआई ग्यास क्यानिस्टर तथा १ हजार ७६९ वटा मानव मल व्यवस्थापनका लागि प्रयोग गरिएका ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारिएको छ।
त्यसैगरी, खुम्बु आइसफल प्रवेशद्वारमा रहेको एसपीसीसी चेकपोइन्टमार्फत क्याम्प–२ बाट मात्रै थप ६ हजार ५२२ किलोग्राम फोहोर संकलन गरिएको छ, जसमा ३ हजार ५३३ किलोग्राम टिन तथा क्यान, ८२७ किलोग्राम भान्साजन्य फोहोर, ८०३ किलोग्राम कागजजन्य सामग्री, ६७६ किलोग्राम प्लास्टिक, ६१६ किलोग्राम टेन्ट तथा कपडा र ६७ किलोग्राम डोरी समावेश छन्।
यो अभियान परम्परागत फोहोर संकलनमा मात्र सीमित नभई प्रविधि र स्वच्छ ऊर्जा प्रवर्द्धनमा समेत केन्द्रित रहेको छ. सन् २०२५ मा एयरलिफ्ट टेक्नोलोजिजसँग गरिएको सहकार्यलाई निरन्तरता दिँदै परीक्षण चरणमा क्याम्प–१ बाट २८३ किलोग्राम फोहोर ड्रोनमार्फत सफलतापूर्वक संकलन तथा ढुवानी गरी हिमाली क्षेत्रमा प्रविधिमैत्री फोहोर व्यवस्थापनको सम्भावना उजागर गरिएको छ।
साथै, एभरेष्ट बेस क्याम्पमा परम्परागत इन्धनमाथिको निर्भरता घटाउन सीबीसीएफको सहयोगमा ५ केभीए क्षमताको सौर्य ऊर्जा प्रणाली स्थापना गरिएको छ, जसले दुर्गम हिमाली क्षेत्रमा भरपर्दो तथा स्वच्छ ऊर्जा उपलब्ध गराइरहेको छ।
आगामी दिनहरूका लागि एसपीसीसी र सीबीसीएफले सन् २०२८ सम्मका लागि तीन चरणको गुरुयोजना अघि बढाएका छन्, जसले सगरमाथा क्षेत्रमा दिगो फोहोर व्यवस्थापन पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ।
सन् २०२६ मा सञ्चालित पहिलो चरण अन्तर्गत वातावरणीय चार्टर निर्माण, वित्तीय योजना, सरोकारवालासँग छलफल, दुई जना रेन्जर परिचालन र प्रारम्भिक ड्रोन परिचालनमा जोड दिइएको छ।
सन् २०२७ को दोस्रो चरणमा ६ जना रेन्जर परिचालन, क्याम्प–४ मा फोहोर संकलन केन्द्र निर्माण, दुईवटा ड्रोन सञ्चालन र १४० वटा मानव फोहोर व्यवस्थापन उपकरण विस्तार गरिने योजना छ।
सन् २०२८ को तेस्रो तथा अन्तिम चरणसम्ममा सम्पूर्ण पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै, २०० वटा मानव फोहोर व्यवस्थापन उपकरण परिचालन गर्ने र आरोही शुल्कमा आधारित आत्मनिर्भर वित्तीय मोडेलमा रूपान्तरण गरी दिगोपन सुनिश्चित गरिनेछ।
सन् १९९१ मा स्थापित शेर्पा समुदायको नेतृत्वमा सञ्चालित गैरनाफामूलक संस्था एसपीसीसी र सन् २०२४ मा स्थापित साईमेक्स इन्क र बीवाइडीको संयुक्त पहल सीबीसीएफको यो सहकार्यले नेपाली हिमालको पर्यावरण जोगाउन नयाँ आयाम थपेको छ।
जेठ २५, २०८३ सोमबार १२:१९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।