फुटबलको महाकुम्भ : साना राष्ट्रहरूलाई सुनौलो अवसर, आर्टिफिसियल इन्टेलिजेन्स र नयाँ कडा नियम
एजेन्सी : विश्व खेलकुदकै सबैभन्दा प्रतीक्षित उत्सव फिफा विश्वकप २०२६ सुरु हुन अब मात्र केही दिन बाँकी छ। आगामी जुन ११ (जेठ २९ गते) देखि जुलाई १९ (साउन ४ गते) सम्म २३औँ संस्करणले फुटबलको विश्वकप सुरु हुँदैछ। यस पटकको फुटबल महाकुम्भका मुख्य आकर्षण, नयाँ नियम र रोचक तथ्यहरू।
तीन देश, १६ शहर र १०४ खेल
विश्वकपको इतिहासमा पहिलो पटक तीनवटा राष्ट्रहरू– संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा यसको आयोजना गर्दैछन्। उत्तर अमेरिका महादेशभरिका १६ वटा अत्याधुनिक र प्रतिष्ठित स्टेडियमहरूमा खेलहरू खेलाइनेछ।
यसअघि सन् २०२२ को कतार विश्वकपमा ६४ खेलहरू भएका थिए भने यसपटक खेलको संख्या बढेर १०४ पुगेको छ। ३९ दिनसम्म चल्ने यो फुटबल मेलामा मेक्सिको सिटीको ऐतिहासिक 'एस्टाडियो एस्टेका' देखि न्यु योर्कको 'मेटलाइफ स्टेडियम' सम्म फुटबलको जादु छाउनेछ। जुलाई १९ मा हुने फाइनल खेल न्युयोर्क/न्यूजर्सीको मेटलाइफ स्टेडियममा तय गरिएको छ।
साना राष्ट्रहरूलाई सुनौलो अवसर
सन् १९९८ देखि लागू भएको ३२ टोलीको संरचना परिवर्तन गर्दै फिफाले यसपटक टोलीको संख्या ४८ पुर्याएको छ। यस विस्तारले गर्दा विश्वकपमा इतिहासकै सबैभन्दा धेरै देशको सहभागिता देख्न पाइनेछ। यो नयाँ संरचनाले विशेष गरी एसिया, अफ्रिका र उत्तर अमेरिकाका धेरै राष्ट्रहरूलाई पहिलो पटक विश्वमञ्चमा उभिने अवसर दिएको छ। यसपटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले विश्वकपमा ऐतिहासिक डेब्यु (पहिलो पटक प्रवेश) गर्दैछन्।
नकआउट चरणमा पुग्न कडा प्रतिस्पर्धा
४८ टोलीहरू भएपछि फिफाले समूह चरणको समीकरणलाई पनि परिवर्तन गरेको छ। यसपटक टोलीहरूलाई १२ वटा समूहमा (Group A देखि L सम्म) विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहमा ४ टोली रहनेछन्।
समूह चरणबाट प्रत्येक समूहका शीर्ष २ टोलीहरू (२४ टोली) स्वतः नकआउट चरणमा पुग्नेछन्। बाँकी ८ वटा स्थानका लागि १२ वटा समूहमध्ये उत्कृष्ट प्रदर्शन गर्ने 'तेस्रो स्थानका ८ टोली' ले पनि नकआउटमा स्थान बनाउनेछन्।
समूह चरणमा एउटा खेल हारे पनि टोलीहरूको अगाडि बढ्ने सम्भावना जीवितै रहन सक्छ, जसले प्रत्येक खेललाई निकै रोमाञ्चक बनाउनेछ।
आर्टिफिसियल इन्टेलिजेन्स र नयाँ कडा नियम
फिफाले यस विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा बढी प्रविधिमैत्री बनाउन डालासमा अत्याधुनिक 'इन्टरनेसनल ब्रोडकास्ट सेन्टर' स्थापना गरिसकेको छ। यसपटक खेल प्रसारण र निर्णय प्रक्रियामा दुईवटा ठूला एआई प्रविधि प्रयोग गरिँदैछ।
खेलमा एआई थ्रिडी प्लेयर एभाटारबाट सेमि-अटोमेटेड अफसाइड प्रविधिलाई अझ परिष्कृत गर्दै खेलाडीहरूको डिजिटल स्क्यान गरिनेछ। यसले भिडियो असिस्टेन्ट रेफ्रीको अफसाइड निर्णयलाई एनिमेटेड थ्रिडी रूपमा स्क्रिनमा देखाउनेछ।
यसैगरि मुख्य रेफ्रीको शरीरमा जडान गरिएको क्यामेराको फुटेजलाई एआई सफ्टवेयरले गुड्दा वा दगुर्दा पनि हल्लिन दिनेछैन। दर्शकले रेफ्रीको आँखाबाट मैदानको फर्स्ट-पर्सन भ्यु स्पष्ट रूपमा देख्न पाउनेछन्।
फुटबलमा खेल भावना जोगाउन फिफाले यसपटक नयाँ 'रेड कार्ड' नियम समेत ल्याएको छ। यदि कुनै खेलाडीले रेफ्री वा विपक्षी खेलाडीसँग विवाद गर्दा आफ्नो मुख छोपेर कुरा गरेमा रेफ्रीले सिधै रातो कार्ड दिन सक्ने अधिकार पाएका छन्।
साथै, खेल संख्या बढेका कारण समूह चरण सकिएपछि खेलाडीहरूको पहेँलो कार्डको रेकर्ड शून्य बनाइनेछ।
जेठ २४, २०८३ आइतबार १९:५९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।