काठमाडौंमा दुई 'अल्ट्रा लग्जरी' होटल खुल्ने, म्यारियट र सीजी हस्पिटालिटीबीच सम्झौता
काठमाडौं : विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल र नेपालको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबीच काठमाडौंमा दुई नयाँ अल्ट्रा लग्जरी र प्रिमियम होटल सञ्चालनका लागि सम्झौता भएको छ।
आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच विश्वप्रसिद्ध ब्रान्डहरू ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी होटलहरू सन् २०३१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
यस सम्झौतासँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा नयाँ कोठाहरू थपिनेछन् भने विश्वस्तरीय लक्जरी होटल ब्रान्ड 'रिट्ज-कार्लटन' ले पहिलोपटक नेपाली बजारमा प्रवेश पाउनेछ। यी होटलहरू चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको संयुक्त साझेदारीमा निर्माण हुन लागेका हुन्।
ठमेलमा 'द रिट्ज–कार्लटन' र ७ किलोमिटर दूरीमा 'द वेस्टिन'
सम्झौता अनुसार, राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्थापना हुने 'द रिट्ज–कार्लटन काठमाडौं' मा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक कोठाहरू रहनेछन्। होटलमा ५ वटा फरक रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, रिट्ज-कार्लटन स्पा र ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको अत्याधुनिक सम्मेलन हल निर्माण गरिनेछ। यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोमिटरको दूरीमा रहनेछ।
त्यसैगरी, विमानस्थलबाट करिब ७ किलोमिटरको दूरीमा 'द वेस्टिन काठमाडौं' निर्माण हुनेछ। १५० वटा प्रिमियम कोठा तथा सुइट रहने यस होटलमा ३ वटा डाइनिङ क्षेत्र, वेस्टिन वर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा, रुफटप स्विमिङ पुल र ७०० वर्गमिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा रहनेछ। यसले विशेष गरी पर्यटकको स्वास्थ्य र सन्तुलित जीवनशैली (वेलनेस) लाई प्राथमिकता दिनेछ।
व्यापारिक सम्बन्ध नयाँ उचाइमा
सम्झौता कार्यक्रममा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुपका अध्यक्ष डा. विनोद चौधरी, सीजी हस्पिटालिटीका सीईओ राहुल चौधरी, म्यारियट एशिया प्रशान्तका अध्यक्ष राजीव मेनन लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीन बाहेक) अध्यक्ष राजीव मेननले चौधरी ग्रुपको बलियो बजार अनुभवका कारण यी ऐतिहासिक परियोजनाहरूले क्षेत्रकै विशिष्ट हस्पिटालिटी गन्तव्य बन्ने विश्वास व्यक्त गरे। यसले नेपालको पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारीमा ठूलो योगदान पुर्याशउने उनको भनाइ थियो।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले म्यारियटसँगको सहकार्य दक्षिण एशियाकै हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्या उने यात्राको नयाँ अध्याय भएको बताए। उनले स्थानीय संस्कृति झल्काउने र पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने गरी विश्वस्तरीय प्रपर्टीहरू विकास गर्न सीजी प्रतिबद्ध रहेको उल्लेख गरे।
बलियो बन्दै विश्वव्यापी साझेदारी
म्यारियट र सीजी हस्पिटालिटीबीच विगत दुई वर्षभन्दा कम अवधिमै भारतमा ‘सिरिज बाइ म्यारियट’ अन्तर्गत ४३ शहरमा ५० वटा होटलहरू सञ्चालनमा आइसकेका छन् भने ७५ भन्दा बढी होटलको सम्झौता भइसकेको छ। भारतबाहिर फिलिपिन्स र दुबईमा पनि यी दुई समूहबीच ठूला लक्जरी परियोजनाहरूमा सहकार्य भइरहेको छ।
हाल १२ देशका १३० गन्तव्यमा २२० भन्दा बढी होटल र रिसोर्टहरू सञ्चालन गरिरहेको सीजी हस्पिटालिटीले सन् २०३० सम्म आफ्नो पोर्टफोलियो ६०० होटल र ३०,००० कोठासम्म पुर्याटउने दीर्घकालीन लक्ष्य राखेको छ।
जेठ २४, २०८३ आइतबार १८:३८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।