दुई विद्यालय र एक परोपकारी संस्थालाई एनआईसी एशिया बैंकको सहयोग
काठमाडौं : एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत झापा र बाराका दुई विद्यालय तथा एक परोपकारी संस्थालाई सहयोग सामग्री प्रदान गरेको छ। बैंकले जेठ २१ र २२ गते आयोजित छुट्टाछुट्टै कार्यक्रममार्फत सहयोग सामग्री हस्तान्तरण गरेको हो।
झापाको विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरलाई बेड तथा फर्निचर सहयोग गरेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले संस्थाकी अध्यक्ष विष्णु दिदी कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। हाल उक्त संस्थामा ४४ जनाभन्दा बढी असहाय, अशक्त र वृद्धवृद्धाहरू आश्रित छन्।
यसैगरी, बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गरिएको बैंकले जनाएको छ। बैंकका वीरगञ्ज सर्कल हेड गोपालप्रसाद सुवेदीले विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
त्यस्तै झापाको मेचीनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई पनि स्मार्टबोर्ड र ल्यापटप प्रदान गरिएको छ। उक्त सामग्री बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख श्रेष्ठ र बिर्तामोड सर्कल हेड सुब्बाले विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई हस्तान्तरण गरेका थिए।
सत्यश्वर शिवशक्ति विद्यालयमा २६३ भन्दा बढी र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सहयोग सामाग्रीबाट परोपकारी संस्थामा आश्रितहरूको दैनिक जीवन सहज हुने र विद्यालयहरूमा डिजिटल सिकाई अभ्यासलाई सुदृढ बनाउन मद्दत पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ।
जेठ २४, २०८३ आइतबार ०९:४९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।