एसियन गेम्स छनोट : ओमानद्वारा नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत

एसियन गेम्स छनोट : ओमानद्वारा नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट खेलको सेमिफाइनलमा ओमानले नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएपछि नेपालले सामान्य लक्ष्य पायो। 

ओमानका लागि कप्तान सुफ्यान महमुदले सर्वाधिक ३८ रन जोडे। उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै, जुबैर अली अकबरले २२ रन र अब्दुलजलिल खानले १६ रन बनाए। 

ओमानका अन्य चार ब्याटर शून्य रनमै आउट भएका थिए। खेलको सुरुवाती अवस्थामा ओमानले १० रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो।

नेपालका लागि करण केसीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।

नेपालले ९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको छ। यस खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ।

जेठ २४, २०८३ आइतबार ०९:३८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।