देशभर १९ हजार किलोमिटर सडक कालोपत्रे

देशभर १९ हजार किलोमिटर सडक कालोपत्रे

काठमाडौं : वार्षिक ८०० किलोमिटर सडक निर्माणको लक्ष्य अनुरूप चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय ९२ किलोमिटर सडक कालोपत्रे भएको छ।

सडक विभागको यही जेठ २० गतेसम्मको विवरणअनुसार ६१ दशमलव पाँच प्रतिशत बराबरको काम सम्पन्न भएको छ।

देशभर हालसम्म कूल १९ हजार ४५६ किलोमिटर दुई लेन सडक कालोपत्रे भएको छ। वार्षिक रूपमा चार लेन वा चार लेनभन्दा बढी १०९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएमा हालसम्म ९२ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ।

विभागका अनुसार हालसम्म देशभर कूल ५८८ किलोमिटर सडक चार लेन वा सोभन्दा बढीका निर्माण सम्पन्न भएका छन्। रिजिड पेभमेन्टतर्फ ६३ किलोमिटर सडक निर्माण पूरा भएको छ।

देशभर सडक कालोपत्रे हुने र गरिने समयमा अलकत्रा अभाव हुँदा अपेक्षित लक्ष्य पूरा हुन समस्या पैदा भएको छ। खाडी क्षेत्रमा भएको तनावका कारण अलकत्रा आयातमा समस्या भएको निर्माण व्यवसायीले उल्लेख गरेका छन्।

ग्राभेलतर्फ कूल १२७ किलोमिटर सडक पूरा भएको छ। माटे सडक ११७ किलोमिटर सम्पन्न भएको विभागले जनाएको छ। वार्षिक लक्ष्यअनुसार १६२ वटा पुल निर्माण गर्नुपर्नेमा ११२ वटा सम्पन्न भएका छन्।

बेलीब्रिजतर्फ पाँच, राजमार्गको आवधिक मर्मततर्फ ९७ किलोमिटर सम्पन्न भएको छ। राजमार्ग पुनः निर्माण तथा स्तरोन्नतितर्फ ५४ किलोमिटर सम्पन्न भएको छ। 

जेठ २३, २०८३ शनिबार २०:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।