बजेट समग्रमा सन्तुलित तर सवारी साधनको मूल्य बढ्न सक्ने : नाडा
काठमाडौं : नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८३/८४ को बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी रहेको जनाएको छ।
यद्यपि, बजेटका नयाँ नीतिगत व्यवस्थाहरूका कारण सवारी साधनको मूल्य भने बढ्न सक्ने नाडाको ठहर छ।
नाडाले सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लगाउने व्यवस्था गरेकाले विद्युतीय र इन्धन दुवै प्रकारका सवारी साधनको मूल्य बढ्ने धारणा सार्वजनिक गरेको छ।
यस्तै विगतमा मोटरको ‘पिक पावर’का आधारमा महसुल तय गरिने गरेकोमा यस पटक कारोबार मूल्यलाई आधार बनाइएको छ।
यसरी मूल्यका आधारमा कर निर्धारण गर्दा र अतिरिक्त महसुल थप्दा सवारी साधन महँगो हुने नाडाले जनाएको छ। मूल्य स्थिरताका लागि नेपाली रुपैयाँको सट्टा डलरका आधारमा कर निर्धारण गर्नु बढी व्यावहारिक हुने सुझाव नाडाको छ।
बजेटमा सडक पूर्वाधार निर्माणका लागि करिब ३ खर्ब रुपैयाँ विनियोजन गरिनु र अधुरा राजमार्गहरू समयमै पूरा गर्ने प्रतिबद्धता आउनु सकारात्मक रहेको नाडाले उल्लेख गरेको छ। यसले समग्र अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउने नाडाको विश्वास छ।
बजेट केही महत्त्वाकाङ्क्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके देशको अर्थतन्त्र चलायमान हुने नाडाका महासचिव मिलनबाबु मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जेठ २३, २०८३ शनिबार ०९:४७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।