नेपालमा लगानी गर्न श्रीलङ्काली उद्योगी तयार : जडीबुटी, जलविद्युत् र पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता

नेपालमा लगानी गर्न श्रीलङ्काली उद्योगी तयार : जडीबुटी, जलविद्युत् र पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलन चेम्बर अफ कमर्सबीच श्रीलङ्कामा सम्पन्न व्यावसायिक (बीटुबी) बैठकमा श्रीलङ्काली उद्योगीहरूले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बैठकमा महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा गएको ५० सदस्यीय प्रतिनिधिमण्डलले नेपालमा लगानीका सम्भावित क्षेत्र र सरकारी नीतिबारे जानकारी गराएको थियो। 

श्रेष्ठले नेपालमा ४० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादनको क्षमता रहेको र सरकारले वैदेशिक लगानीलाई प्रोत्साहन गर्न एकद्वार नीति तथा रेड कार्पेटसहितको स्वागत नीति लिएको बताए। उनले श्रीलङ्कालाई जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ नेपालबाटै लैजानुभन्दा नेपालमै प्रशोधन उद्योग स्थापना गरी लाभ लिन आग्रह गरे।

"नेपालमा हाल करिब दुई तिहाइ बहुमतको स्थिर सरकार छ र लगानीका लागि उपयुक्त वातावरण बनेको छ," उनले भने, "तपाईंहरूले ठूलो मात्रामा लगानी गर्ने इच्छा देखाएमा महासङ्घले सरकारसँग आवश्यक समन्वय र सहजीकरण गर्नेछ।"

बैठकमा श्रीलङ्कास्थित नेपाली दूतावासका प्रथम सचिव सागर भण्डारीले नेपालमा राजनीतिक स्थिरता रहेकाले लगानीको सुरक्षा हुने सुनिश्चितता दिलाए। उनले जलविद्युत्का अतिरिक्त पर्यटन र आयुर्वेद उद्योगमा पनि लगानीको उच्च सम्भावना रहेको उल्लेख गरे।

सिलन चेम्बरका डेपुटी सेक्रेटरी जनरल अलेका परेराले श्रीलङ्काली व्यवसायीहरू नेपालको पर्यटन, जलविद्युत् र जडीबुटी क्षेत्रमा लगानी गर्न तयार रहेको बताए।

श्रीलङ्का जडीबुटी उद्योगमा अगाडि रहेको उल्लेख गर्दै उनले नेपालमा उपलब्ध पर्याप्त कच्चा पदार्थलाई उपयोग गरी उद्योग स्थापना गर्न सकिने धारणा राखे। परेराले दुई देशबीच लामो समयदेखि कायम आयात-निर्यात सम्बन्धलाई थप विस्तार गर्न आफूहरू उत्सुक रहेको समेत बताए। 

जेठ २२, २०८३ शुक्रबार २१:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।