तस्बिरमा हेर्नुहोस् सिद्धपोखरीको मर्मत सम्भार

तस्बिरमा हेर्नुहोस् सिद्धपोखरीको मर्मत सम्भार

काठमाडौं : 'सम्पदा जोगाउने' दीर्घकालीन नीतिअनुरूप भक्तपुर नगरपालिकाले प्रसिद्ध सिद्धपोखरी (त:पुखु)को मर्मत कार्य गरिरहेको छ।

ठेक्का प्रणालीलाई निरुत्साहित गरी नगरपालिकाले उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा सिद्धपोखरी निर्माण कार्य गरिरहेको हो।

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी भक्तपुरका ऐतिहासिक सम्पदाहरू र दरबार स्क्वायर घुम्न आउनेहरूका लागि आकर्षक पर्यटकीय गन्तव्य हो। चारैतिर बलियो पर्खाल लगाइएको र प्रवेशका लागि कलात्मक ढोकाहरू बनाइएको यस पोखरीको स्वरूप आयातकार छ। 

पोखरीको पूर्व-पश्चिम लम्बाइ करिब ५७४ फिट, उत्तर-दक्षिण चौडाइ २४९ फिट र गहिराइ करिब १० फिट छ। भक्तपुर नगरपालिकाले पुर्खाको गौरवशाली इतिहास संरक्षणका लागि सम्पदा एवं पोखरीहरूको नियमित सरसफाइ र मर्मत-सम्भार गर्दै आएको छ।

भक्तपुर नगरपालिकाले यहाँ उपभोक्ता समिति गठन गरी कम खर्चमा बढी स्थानीय जनसहभागिता जुटाई श्रमदानद्वारा सम्पदाहरूको निर्माण र मर्मत गर्ने गर्दछ। सिद्धपोखरीको मर्मत कार्य लागि पनि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा 'सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समिति' गठन गरिएको छ।

​समितिले पोखरीको पानीलाई नजिकै रहेका भाजु पुखु र न:पुखुमा पाइपमार्फत पठाएर २०८२ चैत २० गतेदेखि मर्मतको काम सुरु गरेको थियो। आगामी भदौको दोस्रो हप्तासम्ममा उक्त पोखरीको मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भक्तपुर नगरपालिकाले मर्मतका लागि ८५ लाख रुपैयाँ बजेट छुट्याएको छ। सिद्धपोखरी मर्मत कार्यमा दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन भइरहेका छन्। 

नगरपालिकाले जीर्णोद्धार कार्यमा श्रमदान गर्न इच्छुक स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न संघसंस्थालाई भक्तपुरको गौरवमय सम्पदा संरक्षणमा स्वैच्छिक श्रमदानका लागि आह्वान गर्दै स्थानीय सहभागिता समेत जुटाउने गरेको छ। श्रमदानका लागि सार्वजनिक बिदाको दिन धेरै स्थानीयहरूको सहभागिता हुने गर्छ।

​नेपाल संवत् २३९ अर्थात् १३औँ शताब्दीको सुरुतिर राजा इन्द्रदेवले निर्माण गराएको सिद्धपोखरी नेपालकै सबैभन्दा पुराना र ठूला मानव-निर्मित पोखरीहरूमध्ये एक मानिन्छ। सुरुमा यसलाई 'इन्द्र दह' भनिन्थ्यो। पछि १५औँ शताब्दीमा राजा यक्ष मल्लले यस पोखरीको जीर्णोद्धार गराएका थिए भने नेपाल एकीकरणपछि भीमसेन थापाको कार्यकालमा यसलाई पुनःनिर्माण गरी 'सिद्धपोखरी' नामकरण गरिएको इतिहास छ।

जेठ २२, २०८३ शुक्रबार १९:१४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।