मलेसियालाई १६७ रनले हराउँदै नेपाल समूह विजेता
काठमाडौं : कुशल भुर्तेलको शतकको मद्दतमा मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटमा समूह ‘ए’ को विजेता बनेको छ।
बिहीबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको २७६ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि कप्तान सायद अजिजले ५४ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
मलेसियालाई सस्तैमा समेट्न नेपालका शेर मल्लले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए। सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल खडा गरेको थियो। नेपालको इनिङ्समा कुशल भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रनको योगदान दिए।
अर्का ओपनर आसिफ शेखले २४ बलमा ६८ रन बनाए। पहिलो विकेटका लागि भुर्तेल र शेखबीच १३४ रनको साझेदारी भएको थियो। यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले ३१ र सन्दीप जोराले १५ रन जोडे।
यस खेलमार्फत कुशल भुर्तेल ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक प्रहार गर्ने पहिलो नेपाली र विश्वको १०औँ खेलाडी बनेका छन्। उनले यसअघि चीनविरुद्धको खेलमा १२९ रन बनाएका थिए।
साथै, भुर्तेल ७८ खेलमा २ हजार २४० रन पूरा गर्दै नेपालका लागि टी-२० आईमा सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन्। मलेसियाका लागि बलिङतर्फ वीरनदीप सिंहले ३ तथा विजय उन्नी र सायद अजिजले २-२ विकेट लिए।
लगातार दोस्रो जितसँगै नेपाल ४ अंकसहित समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ। अब नेपालले फाइनल प्रवेशका लागि आइतबार समूह ‘बी’को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।
जेठ २१, २०८३ बिहीबार १७:४१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।