३० हजार मेगावाटको लक्ष्य पूरा गर्न पीपीए तत्काल खुलाउन इप्पानको माग

३० हजार मेगावाटको लक्ष्य पूरा गर्न पीपीए तत्काल खुलाउन इप्पानको माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न रोकिएको पीपीए (विद्युत् खरिद सम्झौता) तत्काल खुला गर्न माग गरेको छ।

बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा आयोजित ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जा उद्यमीहरूले यस्तो माग गरेका हुन्।

कार्यक्रममा इप्पानका उपमहासचिव प्रकाश दुलालले निजी क्षेत्रले हाल देशको कुल विद्युत् उत्पादनको ८५ प्रतिशत हिस्सा ओगटेको जानकारी दिए। उनका अनुसार करिब ४,३०० मेगावाट जडित क्षमतामध्ये ३,६६२ मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ भने ५,८०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन र २,१०० मेगावाट क्षमताका आयोजना पीपीए भई निर्माणको तयारीमा रहेका छन्।

हाल जलविद्युत् र सौर्य ऊर्जा गरी करिब ४६ हजार मेगावाट क्षमताका एक हजार भन्दा बढी आयोजनाहरू विभिन्न चरणमा छन्। तीमध्ये अध्ययन पूरा भई पीपीएको पर्खाइमा रहेका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाहरूको पीपीए तत्काल खोल्न इप्पानले सरकारको ध्यानाकर्षण गराएको हो। 

कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारको १०० बुँदे कार्यक्रममा ३० हजार मेगावाट विद्युत् उत्पादन, पीपीए खुला गर्ने तथा ‘वान डोर’ प्रणालीजस्ता विषय समावेश हुनु इप्पानको महत्वपूर्ण उपलब्धि भएको बताए। 

कार्यक्रममा सहभागी ऊर्जा उद्यमीहरूले लगानीकर्ताहरू संगठित नभए सरकारले ऊर्जा क्षेत्रका माग र समस्यालाई बेवास्ता गर्न सक्ने चेतावनी दिएका थिए। 

इप्पानको २४औँ वार्षिक साधारणसभामा पेश हुने विधान संशोधन प्रस्तावमाथि राय-सुझाव संकलन गर्न आयोजित उक्त कार्यक्रममा करिब ३५० निजी क्षेत्रका ऊर्जा व्यवसायी तथा लगानीकर्ताहरूको सहभागिता थियो। सो अवसरमा संस्थागत एकता, लोकतान्त्रिक नेतृत्व चयन र ऊर्जा क्षेत्रका दीर्घकालीन एजेन्डामाथि सरोकारवालाहरूले छलफल गरेका थिए।

जेठ २१, २०८३ बिहीबार १४:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।