कुशल भुर्तेलको शतकीय इनिङ्स, नेपालद्वारा मलेसियालाई २७६ रनको विशाल लक्ष्य

कुशल भुर्तेलको शतकीय इनिङ्स, नेपालद्वारा मलेसियालाई २७६ रनको विशाल लक्ष्य

काठमाडौं : सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायरको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले मलेसियालाई जितका लागि २ सय ७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७५ रनको विशाल योगफल तयार पार्यो। नेपालका लागि ओपनर कुशल भुर्तेलले शतकीय र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेलेका थिए।

ओपनर कुशल भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतले १ सय २६ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। खेलका क्रममा उनले २५ बलमा अर्धशतक र ४४ बलमा आफ्नो शतक पूरा गरेका थिए।

अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ६८ रनको आक्रामक पारी खेले। आसिफले मात्र १७ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए।

पहिलो विकेटका लागि कुशल र आसिफले ८.४ ओभरमा १ सय ३४ रनको साझेदारी गर्दै नेपाललाई विस्फोटक सुरुवात दिलाएका थिए। नेपालले पावरप्ले (पहिलो ६ ओभर) मा विना क्षति ९५ रन जोडेको थियो।

मध्यक्रममा ब्याटिङ गर्न आएका कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३१ रन जोडे। सन्दीप जोराले १५ र लोकेश बमले १० रन बनाए भने कुशल मल्ल ९ रनमा अविजित रहे।

नेपालले ३.४ ओभरमा ५० रन, ६.५ ओभरमा १०० रन, १४.४ ओभरमा २०० रन र १७.१ ओभरमा २५० रन पूरा गरेको थियो।

मलेसियाका लागि वीरेन्द्रदीप सिंह सबैभन्दा सफल बलर रहे। उनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए।

कप्तान सैयद अजिज र विजय उन्नीले समान २-२ विकेट लिए पनि मलेसियाका अन्य बलरहरू निकै महँगा सावित भए। पवनदीप सिंहले ३ ओभरमा ६२ रन र मोहम्मद अक्रमले ४ ओभरमा ६१ रन खर्चिए।

मलेसियाले अब केही बेरमा २ सय ७६ रनको विशाल लक्ष्य पछ्याउँदै आफ्नो ब्याटिङ सुरु गर्नेछ।

जेठ २१, २०८३ बिहीबार १३:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।