सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ बिच व्यापारिक सहकार्य भएको छ।

यस सम्झौतासँगै बैंकको प्रणालीमा ‘र्यापिड’ एकीकृत (इन्टीग्रेट) गरिएको छ, जसका कारण बैंकका कर्पोरेट ग्राहकहरूले अब एउटै प्लेटफर्मबाट विभिन्न बैंकिङ सुविधाहरू लिन सक्नेछन्।

यसअघि खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न, फण्ड ट्रान्सफर गर्न, ईएमआई भुक्तानी गर्न तथा कर्मचारीको तलब वितरण गर्न फरक–फरक प्लेटफर्म प्रयोग गर्नुपर्ने झन्झट थियो  अब भने ग्राहकले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीमा बैंक खाता लिंक गरेर यी सबै काम एकै ठाउँबाट गर्न सक्नेछन्।

प्रयोगकर्ताले कनेक्ट विथ एपीआइ बैंकिङ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्। गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहका अनुसार यस सहकार्यले सिटिजन्स बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा ठूलो रूपान्तरण ल्याउनेछ। 

वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट उल्लेखनीय रूपमा घट्ने उनको भनाइ छ। सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एक पटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ। त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ।

 

‘¥यापिड’ले ग्राहकको अनुमति प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता ल्याउने विश्वास गरिएको छ । सुरक्षाका दृष्टिले ‘¥यापिड’मा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका डिजिटल ट्रान्जेक्सनलाई सुरक्षित बनाउने दाबी गरिएको छ ।

 

‘¥यापिड’ एक एपीआई आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवा प्रदायकलाई जोड्ने काम गर्छ । कम्पनीका अनुसार एपीआई बैंकिङ अवधारणालाई सहज र पहुँचयोग्य बनाउँदै साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

जेठ २१, २०८३ बिहीबार १०:३८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।