एसियन गेम्स क्वालिफायरमा समूह विजेता बन्न आज नेपाल र मलेसिया भिड्दै
काठमाडौं : सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट क्वालिफायर अन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सिङ्गापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।
यसअघि नै समूह चरणबाट सेमिफाइनलमा प्रवेश गरिसकेका दुवै टोलीले आगामी एसियन गेम्सका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
समूहको पहिलो खेलमा नेपालले चीनलाई २ सय २१ रनको विशाल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा मलेसियाले पनि चीनलाई पराजित गरेसँगै नेपाल र मलेसिया एक खेल अगावै सेमिफाइनलमा पुगेका हुन्।
आजको खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ। हाल अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ।
नेपालको रनरेट ११.०५० रहेको छ भने दोस्रो स्थानमा रहेको मलेसियाको रनरेट ६.६५१ छ। दुवै टोलीको समान २-२ अङ्क छ।
मलेसियाविरुद्ध नेपालको ऐतिहासिक प्रदर्शन निकै बलियो रहेको छ। यी दुई टोलीबीच भएका पछिल्ला पाँच टी-२० आई भेटमा पाँचै खेल नेपालले जितेको छ।
दुई टोलीबीचको पछिल्लो भिडन्त सन् २०२४ अप्रिल १२ मा भएको थियो, जसमा नेपाल ५ विकेटले विजयी भएको थियो।
जेठ २१, २०८३ बिहीबार ०८:३०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।