बालेन सरकारले नहेरेपछि बनेपाको होल्डिङ सेन्टरमा आमाले शुरू गरिन् कक्षा, बल्ल खुल्न थाले बालबच्चा

बालेन सरकारले नहेरेपछि बनेपाको होल्डिङ सेन्टरमा आमाले शुरू गरिन् कक्षा, बल्ल खुल्न थाले बालबच्चा

बनेपा : काठमाडौंका १९ वटा सुकुमबासी बस्तीमा डोजर चल्दा ३ हजार १३३ बालबालिका विस्थापित भएका छन्। काठमाडौं र भक्तपुरको मनोहरा क्षेत्रका बस्तीहरूबाट मात्रै यति ठूलो सङ्ख्यामा बालबालिकाहरू विस्थापित भएका हुन्।

सरकारले १५ दिनभित्रै उचित व्यवस्थापन गर्ने आश्वासन दिएर उठिबास लगाएका यी बालबालिकाहरू अहिले विद्यालय जानबाट पूर्ण रूपमा वञ्चित छन्।

काठमाडौं महानगरपालिकाको निगरानीमा रहेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका ४१ जना बालबालिकालाई नजिकैको विद्यालयमा पढ्न लगिएको त भनियो, तर त्यो देखावटी मात्र भएको यसअघि नै खुलासा भइसकेको छ। उनीहरूलाई विधिवत् भर्ना नगरी केही समय भुलाउनका लागि मात्र त्यहाँ लगिएको हो।

सरकारी तथ्याङ्कमा यी बालबालिकाहरू विद्यालयको विद्यार्थीका रूपमा दर्ता भएका छैनन्। विभिन्न होटल र होल्डिङ सेन्टरमा कष्टकर दिन बिताइरहेका अभिभावकहरू आफ्ना सन्तानको पढाइ छुटेकोमा चिन्तित छन् र उनीहरूको भविष्य नबिगार्न सरकारलाई खबरदारी गरिरहेका छन्।

यसैबिच, उकेराकर्मी बनेपास्थित होल्डिङ सेन्टर पुग्दा काठमाडौंको भन्दा फरक दृश्य देखियो। दिउँसोको १२ बजे बनेपास्थित रेडक्रस भवनको तालिम केन्द्रको एउटा अँध्यारो हलमा केही बालबालिकाहरू पढिरहेका थिए। उनीहरूलाई पढाउने शिक्षिका अरू कोही नभएर विस्थापित भएकी एक अभिभावक थिइन्।

‘सांसदहरू आउँछन्, सोध्छन् र जान्छन्। अब त जेठ पनि आधा भइसक्यो, पहिलो त्रैमासिक परीक्षा आउने बेला हुन लागिसक्यो,’ विस्थापित बालबालिकाहरूलाई पढाइरहेकी रिमा पोखरेलले भनिन्, ‘हामीले हाम्रो बच्चाको बिचल्ली भयो, उनीहरूलाई पढाइबाट वञ्चित नगराउनुस् भनेर कसलाई मात्र भनेनौँ र? तर कसैले पनि सुनेन। त्यसैले आफैँले जे जति सकिन्छ, सिकाउन बाध्य भयौँ।’

यस होल्डिङ सेन्टरमा मात्रै विद्यालय तहमा अध्ययन गर्ने २६ जना बालबालिका छन्। बाँकी भने भर्खरै एसईई उत्तीर्ण गरेका, कक्षा ११ र १२ को परीक्षा दिएका तथा स्नातक तहसम्म अध्ययन गरिरहेका विद्यार्थीहरू छन्। उच्च शिक्षा पढ्नेहरू कहिलेकाहीँ मात्र होल्डिङ सेन्टर आउने भएकाले विद्यालय तहका २६ जना विद्यार्थीको तथ्याङ्क भने अभिभावकहरूले कण्ठै पारेका छन्।

आमा शिक्षिका, छोरी विद्यार्थी
रिमा आफैँ एक आमा हुन्। उनकी कक्षा ५ मा पढ्ने छोरी पनि आमाले पढाएको हेरेर बसिरहेकी थिइन्। उनीसँगै भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी अर्की एक छात्राले पनि बालबालिकालाई पढाउन सघाइरहेकी थिइन्।

विगत एक महिनामा काठमाडौंका विभिन्न होटल हुँदै काभ्रेको बनेपासम्म ओसारपसार गर्दा बालबालिकाको मनोविज्ञानमा गहिरो असर परेको रिमा बताउँछिन्। सुरूमा आमाहरू मिलेर पढाउन खोज्दा धेरै बालबालिकाले पढ्न नै मानेका थिएनन्। तर, अहिले उनीहरू आफैँ झुम्मिने गरेका छन्।

‘बच्चाहरू त हामीसँग मात्र होइन, आफ्नै अभिभावकसँग समेत बोल्न छोडेका थिए। यसरी हुँदैन भनेर सबैलाई जम्मा गरेर पढाउन थालेका हौँ। अब एक साता हुन लाग्दा उनीहरू बल्ल खुल्न थालेका छन्’, रिमाले सुनाइन्।

शिशु कक्षादेखि कक्षा ८ सम्मका बालबालिकालाई उनले समय छुट्याएर पढाउने गरेकी छिन्। अन्य तहका विद्यार्थीहरू भने पायक पर्ने समयमा पढाइबारे सोधपुछ गर्न आउँछन्।

तर, यहाँका बालबालिकाले सहजै पढ्न पाएका भने होइनन्। आमाहरूले रेडक्रसका कर्मचारीहरूसँग निकै आग्रह र विवाद गरेपछि त्यहाँका पदाधिकारीले केही थान कापी उपलब्ध गराएका थिए।

चित्र कोर्ने कापी दिइएकाले तल्लो कक्षाका बालबालिकालाई लेख्न निकै असजिलो भइरहेको देखिन्छ। तैपनि केही नहुनुभन्दा जे छ, त्यसैमा उनीहरू लेखिरहेका छन्। आमाहरूकै पहलमा अहिले एउटा सेतोपाटीको पनि व्यवस्था गरिएको छ। त्यहाँ उनीहरू पढ्ने, खेल्ने र कथा सुन्ने गर्छन्।

रिमा प्रश्न गर्छिन्, ‘हाम्रा बच्चाहरूको पढाइ यसपालि डामाडोल बनाइदियो। हामीलाई कहिलेसम्म यहाँ राखिने र यहाँबाट कहाँ लगिने हो, केही थाहा छैन। यस्तो अवस्थामा हाम्रा नानीहरूलाई शैक्षिक सत्रको बीचमा कुनै स्कुलले भर्ना दिन्छ र? तत्कालै केही समाधान होला भनेको, हामीलाई बनेपा ल्याइएको नै तीन साता भइसक्यो।’

मन्टेस्वरी शिक्षक तालिम लिएकी रिमा बालमनोविज्ञानबारे जानकार छिन्। उनी बालबालिकाको क्षमता अनुसार छुट्टाछुट्टै कुराहरू सिकाउँछिन् र विशेषगरी गणित विषयमा जोड दिन्छिन्।

चिन्ता र त्रासका बिच बालबालिकाहरू
अहिले पनि पढ्दापढ्दै कतिपय बालबालिकाहरू ‘हाम्रो त घर नै छैन, हाम्रो घर बालेनले भत्काइदियो’ भन्दै टोलाउने गर्छन्। ‘अनि म घर नभएर के भयो त, तिमीहरूका ममी-बाबा हुनुहुन्छ नि, चिन्ता नगर भन्छु। अहिले बल्ल हाम्रा नानीहरूको अनुहार अलि उज्यालो भए जस्तो देखिन्छ’, रिमाले भनिन्।

रिमा आफ्नो परिवारसँग मनोहरामा बस्दै आएकी थिइन्। विवाह गरेर उनी त्यही ठाउँमा भित्रिएकी हुन्। घरभाडा तिर्नु नपर्ने भएपछि उनीहरूले आफ्ना सन्तानलाई निजी विद्यालयमा राम्रोसँग पढाइरहेका थिए। उनकी छोरी पढाइमा निकै जेहेन्दार छिन्। तर, अचेल छोरीले सोध्ने एउटै प्रश्न ‘हामी कहिले घर जाने, कहिले स्कुल जाने?’ ले उनलाई भित्रभित्रै पिरोल्छ।

यहाँ बसिरहेकी ८ वर्षकी राधिका महतोले त प्रधानमन्त्री वालेन्द्र शाहलाई आफूहरूलाई छिट्टै पढ्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिठी नै लेखेकी थिइन्। सञ्चारमाध्यममा सार्वजनिक भएको उक्त चिठीको हालसम्म कुनै जवाफ आएको छैन।

कुन विद्यालयमा पढ्दै थियौ भनी सोध्दा उनी ‘स्कुल नै छैन हाम्रो’ भन्छिन्। उनी काठमाडौंको गुह्येश्वरी विद्यालयमा पढ्दै थिइन्। उनको परिवारलाई गत वैशाख १२ गते थापाथलीको बस्तीबाट विस्थापित गरिएको थियो। यहाँ आउने नयाँ मान्छे देख्नेबित्तिकै राधिका ‘बालेनले चिठी पठायो? हामी कहिले स्कुल जाने?’ भन्दै प्रश्न तेर्स्याउँछिन्। तर, उनको प्रश्नको जवाफ कसैसँग छैन।

‘सुकुमबासीका बच्चा भन्दै दुर्व्यवहार गरियो’
होल्डिङ सेन्टरमा रहेका विस्थापितहरू दुई हप्ता अघिसम्म खाना खानका लागि करिब आधा घण्टा हिँडेर बाहिर जानुपर्थ्यो। चर्को घाममा बालबालिका र रोगीहरूलाई आउजाउ गर्न निकै कठिन थियो। त्यही क्रममा बाहिरका केही बालबालिकाले उनीहरूलाई सुकुमबासीका बच्चा भन्दै जिस्क्याउने र दुर्व्यवहार गर्ने गरे।

बालबालिकाहरू आक्रोशित भई झगडा गर्न थालेपछि आमाहरूकै पहलमा क्यान्टिनलाई होल्डिङ सेन्टरभित्रै सारियो। अहिले उनीहरू खानाका लागि बाहिर जानु पर्दैन, घण्टी बज्नेबित्तिकै भवनको भुइँतलामा रहेको क्यान्टिनमा जान्छन्।

‘पहिला त हामीलाई सुकुमबासी भनेर घृणा फैलाइयो, अहिले त्यो घृणाको सिकार हाम्रा नानीबाबुहरू पनि भइरहेका छन्,’ आँसु खसाल्दै रिमाले भनिन्, ‘हामी आफैँ पनि बाहिर केही सामान लिन जाँदा सुकुमबासीहरू कति मोटाघाटा रहेछन्, काम गरेर खानुपर्छ नि भन्दै कुरा काट्छन्। हामीले कुनै चोरी गरेर यहाँ आएका हौँ र? हामी आफ्नो काम गरेर नै खाइरहेका थियौँ।’

आफूहरूलाई अपराधी जस्तै व्यवहार गरिएको र आफ्ना निर्दोष सन्तानले अपमान सहनुपरेकोमा उनीहरू निकै आक्रोशित छन्। बिनाकुनै गल्ती सरकारले आफूहरूलाई यहाँ ल्याएर ‘कैद’ गरेको उनीहरूको गुनासो छ।

रिमाले दुखेसो पोखिन्, ‘साँगा काटेपछि त हामी कहाँ पुग्यौँ कहाँ जस्तो भयो। अझै कति दिन हामी यसरी नै कैद भएर बस्नुपर्ने हो, थाहा छैन। सरकारले साँच्चै हाम्रो व्यवस्थापन गर्ने हो कि होइन भन्नेमा पनि अब हामीलाई शंका लागिसक्यो।’

जेठ २०, २०८३ बुधबार ०८:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।