अदालतमा ‘होस्टाइल’ भएपछि ५० लाखको घुस काण्डमा साक्षीविरुद्ध नै मुद्दा दायर

अदालतमा ‘होस्टाइल’ भएपछि ५० लाखको घुस काण्डमा साक्षीविरुद्ध नै मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सरकारी साक्षीका रूपमा प्रतिकुल बकपत्र (होस्टाइल) गर्ने ईश्वरी प्रसाद गौतमविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ।

ऋण उपलब्ध गराइ दिएबापत सेवाग्राहीसँग ५० लाख घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीको विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइका क्रममा छ। सोही मुद्दामा साक्षीका रूपमा उपलब्ध गराइएका गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ।

अनुसन्धानका क्रममा उनले आयोगका अनुसन्धान अधिकृत समक्ष बयान दिई सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुटको माग गरी साक्षीका रूपमा पेश गरिएको थियो।

तर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा गौतमले गत वैशाख २३ गते विशेष अदालतमा बकपत्र गर्दा पूर्व बयान र आयोगको आरोप दाबीको विपरीत हुने गरी बयान दिएका थिए। उनले अदालतमा प्रतिकुल बकपत्र गरेपछि आयोगले उनीमाथि पुनः अनुसन्धान अघि बढाएको थियो।

आयोगले गौतमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिम ५० लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा (१) का विभिन्न देहाय बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दाबीसहित मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

जेठ १९, २०८३ मंगलबार २१:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।