काठमाडौंमा जेठ २९ देखि ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ आयोजना हुने

काठमाडौंमा जेठ २९ देखि ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ आयोजना हुने

काठमाडौं : इभेन्ट सोलुसनको आयोजनामा आगामी जेठ २९ देखि असार २ गते (जुन १२-१६, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी कक्षमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ।

‘शपिङको नयाँ ठेगाना’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको यो मेला दैनिक बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सञ्चालन हुनेछ।

यस मेलाले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू, नवप्रवर्तनकारी व्यवसायहरू र उपभोक्ताहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्य राखेको छ। मेलामा खुद्रा व्यापारी, उद्यमी र सर्वसाधारण ग्राहकहरूका लागि व्यापारिक सञ्जाल विस्तार गर्ने अवसर मिल्ने आयोजकले जनाएको छ।

मेलामा १०० भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहनेछ भने घरायसी सामान, इलेक्ट्रोनिक्स, फेसन, प्रविधि, हस्तकला र सौन्दर्य सामग्रीहरू पनि हुनेछन्।

३५ हजार भन्दा बढी व्यापारिक क्रेता र सर्वसाधारणको उपस्थिति रहने अनुमान गरिएको मेलामा सामान खरिदमा विशेष छुट, लक्की ड्र र आकर्षक उपहारहरूको व्यवस्था गरिएको छ।

यस पाँच दिने मेलाले नेपालको उपभोक्ता अर्थतन्त्रलाई चलायमान बनाउन र व्यवसायहरूका लागि अवसरको नयाँ ढोका खोल्न मद्दत पुर्याउने आयोजकको विश्वास छ। मेलामा प्रवेश सबै उमेर समूहका लागि खुला गरिएको छ।

जेठ १९, २०८३ मंगलबार १३:१८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।