चितवनको सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ सम्पन्न, ‘कन्फ्युजन म्याट्रिक्स’ टोली प्रथम

चितवनको सौराहामा ‘इसेवा ह्याकाथन २०२६’ सम्पन्न, ‘कन्फ्युजन म्याट्रिक्स’ टोली प्रथम

चितवन : इसेवाले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालसँगको सहकार्यमा आयोजना गरेको आवासीय “इसेवा ह्याकाथन २०२६” सफलतापूर्वक सम्पन्न भएको छ।

गत जेठ १५ गतेदेखि सुरु भएको यस ह्याकाथन नवीन डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार समापन भएको हो।

नेपालमा नवप्रवर्तन संस्कृतिको विकास र युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतिस्पर्धामा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण र वातावरणीय दिगोपनासँग सम्बन्धित विभिन्न नवप्रवर्तनात्मक समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए।

मूल्याङ्कनका आधारमा आदित्य कुमार साह तेली र पूजा यादव आबद्ध टोली ‘कन्फ्युजन म्याट्रिक्स’ प्रथम हुन सफल भएको छ।

त्यसैगरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपानेको टोली ‘क्यास फ्लो’ द्वितीय तथा इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्रीको टोली ‘आर्याना’ तृतीय भएका छन्।

विजयी टोलीहरूले क्रमशः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।

समापन समारोहलाई सम्बोधन गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवाहरूले प्रस्तुत गरेका सिर्जनशील समाधानहरूले डिजिटल अर्थतन्त्र र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

जेठ १९, २०८३ मंगलबार ११:२२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।