मोबाइल नम्बर वा इमेल बदलिँदा बैंकलाई तुरुन्तै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

मोबाइल नम्बर वा इमेल बदलिँदा बैंकलाई तुरुन्तै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई आफ्नो मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

एक वित्तीय चेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटलगायतका सेवाहरू ग्राहकको दर्ता भएको नम्बर र इमेलमै जोडिने भएकाले यसमा विशेष ध्यान दिन आग्रह गरेको हो।

यस्ता माध्यममा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अद्यावधिक जानकारी दिन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकका अनुसार मोबाइल फोन हराएको, चोरी भएको वा मोबाइल नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ।

यसैले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र बैंकले आग्रह गरेको छ। साथै, मोबाइलमार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

राष्ट्र बैंकले वित्तीय सेवासम्बन्धी गुनासो वा उजुरीका लागि आफ्नो अनलाइन गुनासो पोर्टलमार्फत समेत सेवा उपलब्ध गराएको जनाएको छ । वित्तीय साक्षरता र ग्राहक संरक्षणलाई सुदृढ बनाउने उद्देश्यले यस्ता जनचेतनामूलक सन्देशहरू नियमित रूपमा जारी गर्दै आएको राष्ट्र बैंकले जनाएको छ।

जेठ १९, २०८३ मंगलबार १०:१७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।