टी-२० विश्वकपका लागि १६ टोलीको ‘ग्लोबल क्वालिफायर’को मार्गचित्र स्वीकृत, खेलका नियममा पनि हेरफेर
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अहमदाबादमा सम्पन्न बोर्ड बैठकले नेपाली क्रिकेट र समग्र एसोसिएट राष्ट्रहरूलाई प्रत्यक्ष प्रभाव पार्ने गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
आईसीसीले पुरुष टी-२० विश्वकपका लागि १६ टोली सहभागी हुने ‘ग्लोबल क्वालिफायर’को मार्गचित्रलाई सैद्धान्तिक स्वीकृति दिएको छ।
यस नयाँ व्यवस्था अनुसार अब टी-२० विश्वकप छनोटका लागि व्यवस्थापनले उपयुक्त प्रतियोगिताको ढाँचा र छनोट प्रक्रियालाई अन्तिम रूप दिनेछ।
नेपाल जस्ता एसोसिएट राष्ट्रहरूका लागि ग्लोबल क्वालिफायरको पुनः आगमनले विश्वकपमा स्थान बनाउन थप स्पष्ट र प्रतिस्पर्धी अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसअघि प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै क्वालिफायर हुने गरेको थियो।
खेल नियममा व्यापक परिवर्तन: प्रशिक्षकले मैदानमै सल्लाह दिन पाउने
आईसीसीले टी-२० अन्तर्राष्ट्रिय र समग्र क्रिकेट खेलका नियमहरूमा पनि केही नयाँ व्यवस्थाहरू थपेको छ, जुन नेपाली राष्ट्रिय टोलीको आगामी खेलहरूमा समेत लागू हुनेछन्।
खेलको समयमा निर्धारित ‘ड्रिंक्स ब्रेक’मा टोलीका मुख्य प्रशिक्षक वा उनले तोकेका व्यक्तिले मैदानमै गएर खेलाडीहरूसँग रणनीतिबारे परामर्श गर्न पाउनेछन्। साथै टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा दुई इनिङ्स ब्रेक अनिवार्य रूपमा १५ मिनेटको बनाइएको छ।
खेल पुनः सुरु हुने समयमा ब्याटरहरू क्रिजमा पूर्ण रूपमा तयार भइसक्नुपर्ने नियम कडा पारिएको छ भने यसअघि परीक्षणका रूपमा रहेको लेगसाइड वाइड सम्बन्धी नियमलाई अब स्थायी रूपमा अपनाइने भएको छ।
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले परिवर्तन गरेका क्रिकेटका बाँकी नियमहरू सन् २०२६ अक्टोबर १ देखि पूर्ण रूपमा लागू गरिनेछ।
क्रिकेट क्यानडा निलम्बित, तर खेलाडीले खेल्न पाउने
एसोसिएट राष्ट्र क्रिकेट क्यानडालाई आईसीसीले आफ्नो सदस्यताको दायित्व गम्भीर रूपमा उल्लङ्घन गरेको भन्दै तत्कालै लागू हुने गरी निलम्बन गरेको छ।
यद्यपि, क्यानडेली खेलाडीहरूको हित र खेल जीवनलाई ध्यानमा राख्दै आईसीसीले क्यानडाको राष्ट्रिय टोलीलाई आईसीसीका प्रतियोगिताहरूमा सहभागी हुन भने रोक लगाएको छैन। निलम्बन अवधिमा पनि क्यानडाका राष्ट्रिय टोलीहरूले आईसीसीका खेलहरू खेल्न पाउनेछन्।
टेस्ट र महिला क्रिकेट सम्बन्धी अन्य निर्णय
यसबाहेक, आइसिसीले टेस्ट म्याचहरूमा खराब प्रकाश (लाइट) को समस्याका कारण खेल अवरुद्ध हुने अवस्था आउन नदिन दुवै टोलीको सहमतिमा 'पिंक बल' (गुलाबी बल) को परीक्षण प्रयोग गर्न सकिने व्यवस्था स्वीकृत गरेको छ।
त्यसैगरी, महिला क्रिकेटको विकासका लागि नयाँ प्रतियोगिताको मार्गचित्र तयार गर्दै आइसिसीले सन् २०२७ मा हुने महिला च्याम्पियन्स ट्रफीको नयाँ मिति तय गरेको छ। सन् २०२७ को जुन-जुलाईमा हुने भनिएको यो प्रतियोगिता अब सोही वर्षको फेब्रुअरी १४ देखि २८ सम्म आयोजना हुनेछ।
जेठ १९, २०८३ मंगलबार १०:०२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।