४० अर्बको विमानस्थल, ८० अर्बको निजी लगानी : किन सरकारको नयाँ घोषणामा शङ्का गर्दैछन् व्यवसायी?

४० अर्बको विमानस्थल, ८० अर्बको निजी लगानी : किन सरकारको नयाँ घोषणामा शङ्का गर्दैछन् व्यवसायी?

बुटवल : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा विमानस्थल चलाउने नीति अघि सारेपछि लुम्बिनी क्षेत्रका उद्योगी र पर्यटन व्यवसायीहरूमा नयाँ तरङ्ग पैदा भएको छ।

अर्बौंको लगानी बालुवामा पानी हुने चिन्ताले पिरोलिएका व्यवसायीहरू सरकारको यो पछिल्लो ‘यू-टर्न’ बाट उत्साहित हुनुपर्नेमा उल्टै संशय र आशंका व्यक्त गरिरहेका छन्।

विमानस्थल सञ्चालन नहुँदा त्यसलाई लक्षित गरी झन्डै ८० अर्ब रुपैयाँ लगानी गरिसकेको यस क्षेत्रको निजी क्षेत्र अहिले चरम निराशामा छ। बैंकको ब्याज र किस्ताले थिचिएको निजी क्षेत्रका लागि विमानस्थल चल्नुको विकल्प छैन।

तर, सरकारले एकाएक व्यवस्थापन निजी क्षेत्रलाई सुम्पिने घोषणा गर्दा व्यवसायीहरू यसलाई सरकारको ‘जिम्मेवारी पन्छाउने दाउ’ का रूपमा हेरिरहेका छन्।

‘सार्थक प्रयास बिना नै अन्तिम विकल्प रोजियो’
पर्यटन व्यवसायी तथा नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई दिने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँछन्। सरकारले आफैँले गर्नुपर्ने सार्थक प्रयास नगरी पहिलो कदममै अन्तिम विकल्प रोजेको उनको भनाइ छ।

थापा भन्छन्, ‘निजी क्षेत्रलाई दिनु आफैँमा नराम्रो त होइन। तर, सञ्चालनको मोडालिटी, सञ्चालन अवधि, सरकारले निजी क्षेत्रलाई दिँदा अपनाउनुपर्ने आन्तरिक तयारी, ग्लोबल टेन्डर प्रक्रिया र विमानस्थल सञ्चालनबारे भारतीय पक्षसँग सुल्झाउनुपर्ने केही असहमति जस्ता धेरै गहन पक्षहरूलाई केलाउँदा अझै पनि यो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन वर्षौं लाग्ने देखिन्छ।’

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल बजेटमा कच्चा पदार्थमा छुट र अन्तःशुल्क खारेजीका निर्णयले उद्योगीहरू उत्साहित भए पनि विमानस्थलको विषयमा भने सरकारको स्पष्ट मोडालिटी आउनुपर्ने माग गर्छन्।

‘होल्डिङका लागि मात्र विमानस्थल निजी क्षेत्रलाई दिने हो या उडानकै लागि निजी एयरलाइन्सलाई दिने हो, यस विषयमा सरकार नै स्पष्ट नभएकाले अहिले नै यसै भन्न सकिने अवस्था छैन’, अध्यक्ष अर्यालले भने।

हवाई रुट र सरकारी सेवाको विकेन्द्रीकरण मुख्य चुनौती
सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष सिपी श्रेष्ठ निजी क्षेत्रको सहकार्यमा विमानस्थल चलाउने घोषणा गरिए पनि यसका लागि सरकारले तत्काल व्यावहारिक कार्ययोजना ल्याउनुपर्ने बताउँछन्। हवाई रुटको सुनिश्चितता र आवश्यक सेवाहरू भैरहवामै उपलब्ध नहुँदासम्म निजी क्षेत्रले मात्र यसलाई चलाउन नसक्ने उनको तर्क छ।

श्रेष्ठ भन्छन्, ‘भारतसँग जीटूजी (सरकार-सरकार) वार्ता गरेर पश्चिमतर्फको हवाई प्रवेश मार्ग खरिद वा सम्झौता गर्नुपर्छ। त्यस्तै, श्रम स्वीकृति, मेडिकल र भिसा सेन्टरहरू स्थायी रूपमा भैरहवामै स्थापना गर्नुपर्छ। तब मात्र निजी क्षेत्र यसमा अघि बढ्न सक्छ।’

त्यस्तै, पर्यटन व्यवसायी माधव नेपाल पनि सरकारले निजी क्षेत्रलाई जिम्मेवारी सुम्पिनुअघि भारतसँगको हवाई रुटको समस्या समाधान गर्नुपर्नेमा जोड दिन्छन्।

नेपाल भन्छन्, ‘भैरहवाबाट उडान भर्ने एयरलाइन्सलाई आकर्षित गरिरहन प्याकेज घोषणा गर्न र सरकारी सेवाहरूको विकेन्द्रीकरण गर्न तत्कालै एक उच्चस्तरीय कार्यदल बनाएर स्पष्ट रोडम्याप सार्वजनिक गर्न जरुरी देखिन्छ। अन्यथा, यो घोषणा पनि बजेटको पानामै सीमित हुने र निजी क्षेत्रको ८० अर्बको लगानी सदाका लागि डुब्ने खतरा टड्कारो छ।’

विमानस्थल हेरेर लगानी गरेका व्यवसायी संकटमा, धमाधम बन्द हुँदै होटल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै मुख्य आधार मानेर रुपन्देही र लुम्बिनी क्षेत्रमा ठूला लगानीका होटल तथा पर्यटन पूर्वाधारहरू निर्माण भएका थिए। तर, विमानस्थल अपेक्षित ढङ्गले सञ्चालन हुन नसक्दा अहिले खर्बौंको लगानी जोखिममा परेको छ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा विदेशी पर्यटकको ओइरो लाग्ने अपेक्षासहित खुलेका सुविधासम्पन्न होटलहरू अहिले ग्राहक नपाएर बन्द हुने अवस्थामा पुगेका छन्। कतिपय व्यवसायी त बैंकको ऋण र ब्याज तिर्न नसकेर सम्पत्ति नै बैंकलाई बुझाउन बाध्य भएका छन्।

यसको एउटा उदाहरण हो- लुम्बिनीमा सञ्चालित होटल ‘ग्रान्ड कस्मो लुम्बिनी’। ३५ वटा ‘भीआईपी कोठा’ र छतमा ‘स्वीमिङ पुल’ सहित सञ्चालक अक्रामउद्दिन खानले २० करोड रुपैयाँको लगानीमा यो होटल निर्माण गरेका थिए। तर, कोभिड महामारी र विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा उत्पन्न आर्थिक सङ्कटका कारण यो होटल अन्ततः बैंकको नियन्त्रणमा पुगेको छ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष माधव खनाल विमानस्थललाई लक्षित गरेर खोलिएका यस क्षेत्रका सुविधासम्पन्न १०० भन्दा बढी होटलहरू बन्द भइसकेको दाबी गर्छन्।

अध्यक्ष खनाल भन्छन्, ‘विमानस्थललाई हेरेर पर्यटक लक्षित होटलहरूमा अर्बौं रुपैयाँ लगानी भएको छ। तर अहिले होटल सञ्चालनका लागि न्यूनतम अकुपेन्सी समेत नहुँदा होटलहरू धमाधम बन्द हुने अवस्थामा पुगेका छन्।’

उनले सरकारले अर्बौं रुपैयाँ लगानी गरेर तयार गरेको विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न गम्भीर पहलकदमी गर्नुपर्ने बताए। निजी क्षेत्रसँग सहकार्य गर्ने बजेटको घोषणा सकारात्मक भए पनि त्यसको स्पष्ट र तत्काल कार्यान्वयन हुने कार्ययोजना आवश्यक रहेको उनको भनाइ छ।

भव्य उद्घाटन, तर लय समात्न सकेन विमानस्थलले
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत झन्डै ४० अर्ब रुपैयाँको लागतमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन २०७९ साल जेठ २ गते २५६६ औँ बुद्ध जयन्तीका दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भव्य रूपमा गरेका थिए।

उद्घाटनकै दिन कुवेतको जजीरा एयरवेजले न्यारोबडी विमानमार्फत १७८ यात्रु लिएर भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान अवतरण गराएको थियो। पछि कुवेत-भैरहवा रुटमा जजीरा एयरवेज र दुबई-भैरहवा रुटमा फ्लाइदुबईले केही सीमित उडानहरू सञ्चालन गरे पनि ती उडान नियमित, दीर्घकालीन र व्यावसायिक रूपमा स्थिर हुन सकेनन्। अन्ततः यो अन्तर्राष्ट्रिय विमानस्थल फेरि घरेलु उडानमै खुम्चिन पुग्यो।

लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको यो विमानस्थलले पश्चिम नेपालको आर्थिक परिदृश्य नै बदल्ने अपेक्षा गरिएको थियो। तर यात्रु मागको कमजोर व्यवस्थापन, अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नसक्नु र स्पष्ट सरकारी नीतिको अभावका कारण यो बहुप्रतिक्षित परियोजना अहिले अलपत्र जस्तै बन्न पुगेको छ।

जेठ १९, २०८३ मंगलबार ०९:४२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।