हिमालय एयरलाइन्सद्वारा अब काठमाडौं-शेन्जेन सिधा उडान
काठमाडौं : हिमालय एयरलाइन्सले आगामी जुन ४ देखि चीनको शेन्जेनमा सिधा उडान सुरु गर्ने भएको छ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको 'सिलिकन भ्याली' भनिने सहर शेन्जेनस्थित बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीचमा हिमालय एयरलाइन्सले साप्ताहिक दुई उडान सञ्चालन गर्न लागेको हो।
सार्वजनिक उडान तालिका अनुसार काठमाडौंबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार राति २१:५० मा उडान हुनेछ, जुन स्थानीय समयअनुसार भोलिपल्ट बिहान साढे ४ मा अवतरण हुनेछ।
यस्तै, शेन्जेनबाट काठमाडौंका लागि प्रत्येक बुधबार र शुक्रबार बिहान ५:५५ मा उडान हुने र सोही दिन बिहान ८:३५ मा जहाज काठमाडौं आइपुग्नेछ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यो उडानले नेपाल र चीनबीचको हवाई कनेक्टिभिटी विस्तार गर्नुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। शेन्जेनलाई चीनको प्रमुख औद्योगिक केन्द्रका रूपमा चिनिन्छ।
नयाँ गन्तव्यको विस्तारसँगै दुई देशका नागरिकबीचको सम्बन्ध र आर्थिक अवसरहरू बढ्ने कम्पनीको विश्वास छ। सन् २०१४ मा स्थापित हिमालय एयरलाइन्सले हाल ३ वटा एयरबस ३२० र १ वटा एयरबस ३१९ गरी कुल ४ वटा जहाजमार्फत मध्यपूर्व र दक्षिण एसियाका विभिन्न गन्तव्यमा उडान भरिरहेको छ।
कम्पनीको वेबसाइट, मोबाइल एप वा आधिकारिक ट्राभल पार्टनरमार्फत टिकट बुकिङ गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
जेठ १८, २०८३ सोमबार २१:१३:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।