श्रीलंकाको लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्धित
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल श्रीलंकाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता 'लंका प्रिमियर लिग' (एलपीएल) २०२६ का लागि अनुबन्धित भएका छन्।
सोमबार सम्पन्न खेलाडी ड्राफ्टमार्फत उनीहरू दुई फरक टोलीमा छनोट भएका हुन्। जाफ्ना किंग्सले लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आफ्नो टोलीमा आबद्ध गरेको छ।
सन्दीप विदेशी खेलाडीको सूचीबाट र दीपेन्द्र एसोसिएट कोटाबाट छानिएका हुन्। यस्तै, ओपनर कुशल भुर्तेललाई कोलम्बो क्याप्सले एसोसिएट कोटामै अनुबन्ध गरेको छ।
अनुबन्ध भएसँगै सन्दीपले २० हजार अमेरिकी डलर (करिब ३० लाख नेपाली रुपैयाँ) पारिश्रमिक पाउनेछन्। त्यसैगरी, दीपेन्द्र र कुशलले समान १५ हजार अमेरिकी डलर (करिब २२ लाख ५० हजार नेपाली रुपैयाँ) प्राप्त गर्ने निश्चित भएको छ।
नेपालका लागि सन्दीप र दीपेन्द्रले यसअघि नै विभिन्न विदेशी लिगहरू खेलिसकेका छन्। कुशल भुर्तेलका लागि भने यो पहिलो वैदेशिक फ्रेन्चाइज लिग अनुभव हुनेछ। प्रतियोगिता आगामी जुलाई १७ देखि अगस्ट ८ सम्म श्रीलंकामा सञ्चालन हुनेछ।
छैटौं संस्करणको यस लिगमा जाफ्ना किंग्स, कोलम्बो क्याप्स, डम्बुला सिक्सर्स, गले ग्यालेन्ट्स र क्यान्डी रोयल्स गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको इतिहासमा जाफ्ना किंग्स सर्वाधिक चार पटकको विजेता टोली हो भने साविक विजेता बी-लभ क्यान्डीले एक पटक उपाधि जितेको छ।
जेठ १८, २०८३ सोमबार २०:५८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।