कागजबाट जमिनमा ओर्लिँदै बुद्ध परिपथ

कागजबाट जमिनमा ओर्लिँदै बुद्ध परिपथ

बुटवल : वर्षौंदेखि केवल कागज र छलफलमा सीमित बुद्ध परिपथ निर्माणको योजना अन्ततः कार्यान्वयनको चरणमा प्रवेश गर्दै छ। बुद्ध जन्मस्थल लुम्बिनीसहित कपिलवस्तु, देवदह र रामग्राम क्षेत्रको एकीकृत पर्यटकीय पूर्वाधार निर्माणका लागि साढे १२ अर्ब रुपैयाँ बराबरको मेगा प्रोजेक्ट आगामी साउनदेखि सुरु हुने निश्चित भएको हो।

विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुन लागेको परियोजनाका लागि सहरी विकास तथा भवन निर्माण विभाग र बुद्ध परिपथ क्षेत्रका चार नगरपालिकाबीच हालै औपचारिक सम्झौता भएको छ। उक्त सम्झौतासँग अब परियोजनाले मूर्त रूप लिन थालेको हो।

सम्झौता पत्रमा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख धुब्रप्रसाद खरेल र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले हस्ताक्षर गरेका छन्। विभागका तर्फबाट महानिर्देशक रवीन्द्र बोहराले हस्ताक्षर गरेका छन्।

पाँच वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि प्रत्येक नगरपालिकाले करिब ४५ करोड ९० लाख रुपैयाँ (३ मिलियन डलर) बजेट सोझै परिचालन गर्न पाउनेछन्। आगामी आर्थिक वर्षको सुरुवातमै प्रत्येक नगरपालिकालाई पहिलो किस्ताबापत ९-९ करोड रुपैयाँ बजेट निकासा गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिषकुमार यादवले जानकारी दिए।

लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई एउटै पर्यटन सञ्जालमा जोड्दै बुद्धसँग सम्बन्धित सम्पूर्ण ऐतिहासिक क्षेत्रलाई विश्वस्तरीय आध्यात्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ।

परियोजनामा के के हुनेछन् ?
करिब ८५ मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालनको लागि प्रत्येक नगरपालिकाले झण्डै ४६ करोड रुपैयाँ बराबरको बजेट परिचालन गर्नेछन्। जसअन्तर्गत ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरूमा सम्पदामैत्री पूर्वाधार निर्माण गरिनेछ। ती क्षेत्रमा पैदल मार्ग, आधुनिक सार्वजनिक शौचालय, डिजिटल सूचना प्रणाली, संकेत बोर्ड, खानेपानी सुविधा, सरसफाइ र ढल व्यवस्थापनका काम गरिनेछन्।

पर्यटकलाई सहज र व्यवस्थित अनुभव प्रदान गर्ने गरी गन्तव्य व्यवस्थापन प्रणालीसमेत विकास गरिनेछ। यसका साथै सम्पदा क्षेत्रको संरक्षणलाई प्राथमिकता दिँदै आधुनिक पूर्वाधार निर्माण गरिने योजना छ। परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष भनेको स्थानीय समुदायलाई पर्यटनसँग प्रत्यक्ष जोड्नु हो। 

स्थानीय उत्पादनको पहिचान, ब्रान्डिङ र बजारीकरणमार्फत आयआर्जन बढाउने कार्यक्रम सञ्चालन गरिनेछ। कृषि, हस्तकला, स्थानीय परिकार तथा सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्ने योजना छ। यस्तै, स्थानीय युवालाई पर्यटन गाइडका रूपमा तयार गर्न विशेष तालिम कार्यक्रम सञ्चालन गरिनेछ। 

दक्ष जनशक्ति उत्पादन भएपछि पर्यटकलाई स्थानीय इतिहास, संस्कृति र सम्पदाबारे गुणस्तरीय जानकारी उपलब्ध गराउन सकिने विश्वास गरिएको छ। 

बुद्ध जन्मभूमि लुम्बिनीमा वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरे पनि उनीहरूको बसाइ अवधि निकै छोटो रहने गरेको छ। अधिकांश विदेशी पर्यटक लुम्बिनीमा केही घण्टा मात्र बिताएर फर्किने गरेका छन्। यो परियोजना सम्पन्न भएपछि बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनको भनाई छ।

सन २०१६ देखि नै यो परियोजनाका बारेमा विश्व बैङ्कसँग छलफल सुरु भए पनि लुम्बिनी विकास कोषका तत्कालीन पदाधिकारीहरूको व्यक्तिगत स्वार्थका कारण बुद्ध परिपथ निर्माणको योजना झन्डै तुहिने अवस्थामा पुगेको थियो। विगत एक वर्षको कूटनीतिक प्रयासपछि कार्यान्वयनको चरणमा पुगेको हो। विश्व बैङ्कका वरिष्ठ विज्ञ इलाड सेनफेल्ड नेतृत्वको टोलीले अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयसँग गरेको समन्वयपछि परियोजनाले मूर्त रूप लिएको थियो।

जेठ १८, २०८३ सोमबार १७:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।