रास्वपा सभापति रवि भारत जाने अघिल्लो दिन प्रधानमन्त्री वालेन्द्रको बोलीले ल्याएको सीमाको बबन्डर

रास्वपा सभापति रवि भारत जाने अघिल्लो दिन प्रधानमन्त्री वालेन्द्रको बोलीले ल्याएको सीमाको बबन्डर

काठमाडौं : फिल्मी शैलीमा सदन प्रवेश गरेर सभामुखसँग समय मागेका प्रधानमन्त्री वालेन्द्र शाहले र्याप ब्याटल शैलीमा सांसदहरूसँग प्रश्नोत्तर गर्दा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि कूटनीतिक क्षेत्रमा तरगं आएको छ।

प्रत्येक महिना प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने प्रतिनिधि सभा नियमावलीमा प्रावधान भए पनि प्रधानमन्त्री वालेन्द्र संसदमा जवाफका लागि राजी भएका थिएनन्। प्रधानमन्त्री सांसदहरूको प्रश्नबाट भागेको भन्दै विपक्षीहरूले विरोध गरेपछि सभामुखले उचित समयमा आउने जवाफ दिएका थिए।

आइतबार उनी संसदमा उपस्थित मात्र भएनन्, आकस्मिक समयमा हात उठाएर बोल्नका लागि सभामुखसँग समय मागे। सभामुख डीपी अर्यालले पनि समय दिए। उनी जब रोस्टममा पुगे अनि सांसदहरूको प्रश्नको उत्तर दिने भनेर प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि सभामुखसँग अनुरोध गरे। पूर्व निर्धारित लिखित प्रश्नको जवाफ दिने परम्परा तोड्दै उनले तत्काल प्रश्न अनि तत्काल जवाफको शैली अपनाए। त्यहीक्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको लिपुलेक,कालापानी र लिम्पियाधुरा भारतले मिचेकोबारे प्रश्न गरेका थिए।

त्यसको उत्तरमा उनले तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला भन्दै भने “मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।”

नेपाल र भारतको सीमाका केही स्थानमा स्थानीयहरूले एक अर्को देशको जग्गामा खेती गरेको विषय सार्वजनिक हुने गरेको छ। यो देशले नै सीमा मिचेको भन्दा पनि सीमामा बस्ने स्थानीयले एक अर्काको सीमाभित्र खेती गरेको रूपमा सार्वजनिक भइरहेको थियो। तर प्रधानमन्त्री वालेन्द्रले देशले नै सीमा मिचेको जसरी अभिव्यक्ति दिए। जसरी भारतले पेलाहा शैलीमा लिम्पियाधुरासहितको नेपाली भूभाग मिचेको छ त्यसरी नै नेपालले भारतको सीमा मिचेको छ त ?

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागका प्राध्यापक खड्ग केसी संसदमा प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोलेको बताए। अहिलेसम्म भारतीय पक्षले समेत नेपालले आफ्नो सीमा मिचेकोबारे नबताएको उनले दाबी गरे।

“नेपालले भारतको सीमा मिचेको विषय प्रधानमन्त्रीजीले कहाँबाट थाहा पाउनु भयो, मलाई थाहा भएन,” उनले उकेरासँग भने,“हालसम्म भारतीयहरूले समेत नेपालले भूमि मिचेको भनेको सुनिएको छैन। यस्ता कुरा प्रधानमन्त्रीले सदनमा विना प्रमाण बोल्न मिल्दैन। कूटनीतिक क्षेत्रमा यस्ता कुरालाई राम्रो मानिँदैन।”

भारतले समेत दाबी नगरेको विषय प्रधानमन्त्रीले किन दाबी गरे ? 

नेपाल-भारत बिचका सीमा सहितका विवादहरूबारे अध्ययन गर्न केपी शर्मा ओलीको प्रधानमन्त्रीकालमा नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) गठन भएको थियो। सो समूहमा नेपालबाट  डा. भेषबहादुर थापा संयोजक थिए। त्यसमा नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा राजन भट्टराई सदस्य थिए।

भारतकोतर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र महेन्द्र पी लामा थिए। सो समूहले प्रतिवेदन तयार गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने प्रयास गरे पनि सफल भएको छैन। सो प्रतिवेदन अहिलेसम्म अलपत्र छ।

इपिजीका सदस्यमध्येका एक डा. भट्टराई अहिलेसम्म भारतले समेत नेपालले भारतको भूमि मिचेको औपचारिक रूपमा दाबी नगरेको बताए।

“औपचारिक रूपमा रोष्टममा उभिएर प्रधानमन्त्री वालेन्द्र शाहले जुन हिसाबबाट यो विषयलाई राख्नुभयो, यो आपत्तिजनक विषय हो,” उनले उकेरासँग भने, “जुन विषयमा आफ्नो छिमेकी मुलुकले भनेकै छैन, कहिँकतै कुनै संवादमा विषय प्रवेश गराएको छैन। त्यस्तो विषयमा देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता अनि हाम्रो भौगोलिक रक्षाको मामिलामा प्रमुख जिम्मेवारी लिएर त्यो पदमा पुगेको व्यक्तिले औपचारिक रूपमा यस्ता विषयमा बोल्दा कूटनीतिक हिसाबले अत्यन्तै गम्भीर छ।”

प्रधानमन्त्रीले संसदमा औपचारिक रूपमा बोलेका यस्ता कुराले दुई मुलुकबी पछिसम्म पनि यो विषय उठ्न सक्ने भन्दै उनले नेपालले कालापानीमा भारतीय सेना हट्नु पर्छ भन्ने तर अर्कोतिर नेपालकै प्रधानमन्त्रीले नेपालले नै भारतको भूमि मिचेको भनेर भन्न मिल्ने विषय नै नभएको बताए।

उनले नेपाली सीमा भारतले अतिक्रमण गरेको विषयमा तेस्रो पक्षलाई प्रवेश गराएर बेलायत नभनी प्रधानमन्त्रीले इङ्गल्यान्ड भन्नु समेत अपरिपक्व भएको भट्टराईको तर्क छ।

“इङ्गल्यान्ड भनेको अफिसियल भाषा होइन। युनाइटेड किङडम भन्नुपर्छ कि संयुक्त राज्य बेलायत भन्नुपर्छ। जुन हिसाबबाट अर्को पक्षलाई जोड्ने कुरा गर्नुभयो, द्विपक्षीय मामिलालाई सल्टाउने विषयमा तेस्रो पक्ष खोज्ने कुराले अझै विषयलाई जटिल बनाउँछ” उनले भने।

प्रधानमन्त्रीले संसदमै विवादित विषय बोलेकाले उनले यस मामिलामा छिटो भन्दा छिटो संसदबाटै स्पष्ट पार्नुपर्ने उनले बताए।

“यदि उहाँले त्यो भुलवश भनेको हो भने त्यो भनाई तुरुन्तै फिर्ता लिएर क्षमा माग्नुपर्छ" उनले भने।

 रवि भारत जाने अघिल्लो दिन आएको विवादास्पद अभिव्यक्ति 

संयोग हो या नियोजित प्रधानमन्त्री वालेन्द्रबाट आफ्नै पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने अघिल्लो दिन सीमाबारे यति विवादास्पद अभिव्यक्ति बोले। प्रारम्भमा भारतले प्रधानमन्त्री वालेन्द्रकै भारत भ्रमण मिलाउन खोजेको थियो। त्यसका लागि विदेश सचिव समेत नेपाल आउने कार्यतालिका सार्वजनिक भएको थियो।

त्यही बिचमा भारतले नेपाली भुभागहुँदै बनाएको सडकमार्गबाट कैलाश जानेक्रम सुरु गर्यो। त्यसमा नेपालले कूटनीतिक नोट पठाएर विरोध गर्यो। एकाएक भारतीय विदेश सचिवको नेपाल भ्रमण नै रोकियो। एकाएक पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने भोलि (सोमवार) भारत भ्रमणमा जाँदैछन्। यस अगाडि नै सरकारले आफ्नै दलको सभापतिको भारत भ्रमणसँग सरकारको सम्बन्ध नरहेको दाबी गरिसकेको छ।

"सभापतिज्यू आफ्नो ढंगले जानुभएको हो। यसलाई प्रधानमन्त्रीज्यूको भ्रमणसँग जोडेर हेर्न त पाइयो, तर त्यसको कुनै सम्बन्ध छैन," सरकारका प्रवक्ता सस्मित पोखरेलले भनेका थिए।

तर पार्टी सभापतिको भारत भ्रमणको अघिल्लो दिन दलको वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सीमाबारे यती विवादित अभिव्यक्ति दिए। त्यसको प्रभाव रविको भ्रमणमा पर्ने निश्चित छ। प्रधानमन्त्रीबाट गम्भीर विषयमा आएको गैर कूटनीतिक दाबीबारे परराष्ट्रले दशगजा क्षेत्रको अतिक्रमणबारे बोलेको प्रस्टीकरण दिएको छ। तर यो स्पष्टीकरणले मात्र रविको भारत भ्रमणमा संकट टरेको देखिँदैन। सरकारी तहमा वालेन्द्रको अभिव्यक्तिबारे प्रतिक्रिया आउँछ या आउँदैन एकिन नभए पनि उनले भारतीय सञ्चारकर्मीबाट प्रश्नको सामना गर्ने निश्चित देखिन्छ।

एमाले सचिव समेत रहेका डा भट्टराई सबैभन्दा ठूलो पार्टीका सभापति समेत रहेका लामिछाने भारत जानु अघि प्रधानमन्त्रीबाट सीमा विवादबारे आएको अभिव्यक्त गम्भीर भएको बताउँछन्।

इपिजीको सदस्यको हिसाबले दुई वर्ष नेपाल-भारत सम्बन्धका बहुपक्षीय आयामका विषयमा छलफल गर्दा, सीमा विषयमा अत्यन्तै गम्भीर, जटिल विषयमा कुरा गर्दा समेत भारतीय पक्षले कहिले पनि भारतले 'फलाना ठाउँ, फलाना भूभाग हाम्रो, तिमीहरूले मिच्यौ'  नभनेको तर रवि लामिछाने भारत जाने सेरोफेरोमा यस्तो भनाइ आउनु निकै गम्भीर भएको भट्टराईले बताए। 

जेठ १७, २०८३ आइतबार २१:५५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।