फलाखु खोला जलविद्युत आयोजनामा एन आई सी एशिया बैंकले ९५ करोड २० लाख लगानी गर्ने
काठमाडौं : एन आई सी एशिया बैंकले रसुवामा निर्माण हुन लागेको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ।
आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने रणनीति अन्तर्गत बैंकले जलविद्युत क्षेत्रमा लगानी विस्तारलाई तीव्रता दिएको हो।
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट उत्पादन क्षमताको यस आयोजनाका लागि बैंक र प्रवर्द्धक कम्पनी रसुवा हाइड्रोपावरबीच लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एक समारोहका बीच बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादनको लक्ष्यलाई सघाउने उद्देश्य राखिएको यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। निर्माण सम्पन्न भएपछि यस आयोजनाबाट वार्षिक करिब ३८.७४ GWh विद्युत उत्पादन हुनेछ।
आयोजनाको निर्माणसँगै मुलुकमा स्वच्छ ऊर्जाको पहुँच बढ्ने, आर्थिक वृद्धिमा योगदान पुग्ने र वातावरणीय पक्षमा समेत सकारात्मक टेवा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
जेठ १७, २०८३ आइतबार १९:१५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।